
कर्मफ्लाइट्स फाउण्डेशन पोखरा कास्कीले कोरोना रोकथाम तथा नियन्त्रणको लागि बाग्लुङ्ग तथा रुकुमका विभिन्न १२ वटा स्वास्थ्य संस्थाहरुलाई १८ लाख ५० हजार मुल्य बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।
कर्मफ्लाइट्स फाउण्डेशन पोखराका कार्यक्रम निर्देशक प्रेम कुँवरको सक्रियतामा संस्थाको तर्फबाट पश्चिम बागलुङ्गका तीन पालिकाहरु निसीखोला, तमान खोला, बडीगाड तथा ढोरपाटन नगरपालिका र रुकुम पूर्व तथा रुकुम पश्चिमका स्वास्थ्य संस्थालाई स्वास्थ्य सामाग्री वितरण गरेको छ ।
कोरोना संक्रमणको प्रभाव यस क्षेत्रको समुदाय तहमै बढी परेको र यसलाई कम गर्न स्वास्थ्यकर्मीको आग्रह र स्वास्थ्य संस्थामा अति आवश्यक रहेका स्वास्थ्य सामाग्री खरिद गरेर हस्तान्तरण गर्न थालिएको कुँवरले बताए ।

असहज वातावरणका बीच पनि आवश्यक स्वास्थ्य सामाग्री ढोरपाटन नगरपालिका, तमानखोला गाउँपालिका, बडिगाड गाउँपालिका, निसीखोला गाउँपालिका का विभिन्न स्वास्थ्य केन्द्रमा सामाग्री पु–याउन पाउँदा आफु धेरै खुशी भएको कुँवरले बताए ।
जस अनुसार बुर्तिवाङ्ग प्राथमिक स्वास्थ्य केन्द्रमा प्रसुति अप्रेशनका लागि आवश्यक पर्ने कोट्री मेशिन १ थान सहित अटोकेल्प १ सेट, सर्जिकल ग्लोब्स २५ प्याकेट, स्टिम पट २५ सेट, फेस माक्स १० प्याकेट गरि कुल १ लाख ५८ हजार ९ सय ७५ मूल्य बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको कुँवरले जानकारी दिए ।
त्यस्तै गरि निसीखोला गाउँपालिकाको ६ वटै स्वास्थ्य चौकी र एक कोभिड अस्पतालमा गरी १० लिटर क्षमता भएको ४ वटा हाइ फ्लो का अक्सिजन कन्सन्ट्रेटर, औषधि तथा स्वास्थ्य सामाग्री सहित कुल ९ लाख ५४ हजार ८ सय ५० रुपैया मूल्य बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएकोमा निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले संस्थाप्रति आभार व्यक्त गरेको कुरा बुर्तिवाङ्गबाट पत्रकारिता गर्ने रेडियो ढोरपाटन स्टेशन मेनेजर छबिलाल पौडेलले जानकारी दिए ।

कर्मफ्लाइट्स फाउण्डेशन नेपालले पोखराबाट बाढी पहिरो र कोभिड–१९ को जोखिम बाबजुद पनि रुकुम जिल्ला मुसिकोट नगरपालिका सल्ले अस्पतालमा पनि सहयोग गरेको छ । यो वर्षको कोभिडको महामारीमा रुकुम सल्ले अस्पतालमा पुगी मुसीकोट नगरपालिका उपमेयर प्रेम कुमारी सुनारको रोहवरमा जम्मा १ लाख ४० हजार ५ सय १२ बराबरको स्वास्थ्य सामाग्री वितरण गरिएको छ जस अन्र्तगत ५ लिटर क्षमताका २ वटा अक्सिजन कन्सन्ट्रेटर, १० प्याकेट मास्क, १० थान इलेक्ट्रीक स्टीम पट लगायतका सामाग्रीहरु उपलब्ध गराइएको कुरा संस्थाको स्थानीय साझेदार बाल सहायता केन्द्र रुकुमका अध्यक्ष खेम पुनले बताएका छन् । सल्ले अस्पताल स्वास्थ्य निमित्त प्रमुख विष्णु बहादुर बुढाथोकीले सामाग्री बुझ्दै कोभिड बिरामी उपचार गरिरहेकोे अस्पताललाई यस सहायताले ठूलो हौसला पुगेको बताए ।
त्यस्तै गरि रुकुम पूर्वमा कर्मफ्लाइट्स फाउण्डेशन नेपाल कास्कीले विभिन्न स्वास्थ्य सामाग्रीहरु सहयोग गरेको छ । सोमबार संस्थाका निर्देशक प्रेम बहादुर कुँवर र कार्यक्रम संयोजक राजु परियारको टोली जिल्लामा पुगेर १० लिटर क्षमताका २ वटा अक्सिजन कन्सन्ट्रेटर, ९ थान पिपिई सेट, १ थान अक्सिमिटर, १००० थान सर्जिकल मास्क, २० प्याकेट सर्जिकल ग्लोब्स लगायत गरि मूल्य रु ३ लाख ३० हजार ९ सय २३ मुल्य बराबरको स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ ।
स्वास्थ्य सामाग्री जिल्ला समन्वय समिति उप प्रमुख भिमकुमारी पुन, प्रमुख जिल्ला अधिकारी राजकुमार राईलाई डिसीएमसी को बैठक स्थलमा हस्तान्तरण गरिएको हो । प्रमुख जिल्ला अधिकारी राईका अनुसार १० लिटर क्षमताका २ वटा अक्सिजन कन्सन्ट्रेटर मेशिन जिल्लामै पहिलो पटक भित्रिएको र जिल्लाका स्वास्थ्य निकायहरुमा आवश्यकताको आधारमा उपलब्ध गराइने बताए ।

कोरोना रोकथाम तथा नियन्त्रणको लागि रुकुम पुर्वमा आवश्यक स्वास्थ्य सामाग्रीहरु पर्याप्त नभएको जानकारी पछि कर्मफ्लाइट्स फाउण्डेशन नेपाल कास्कीले सोमवारको दिन विभिन्न सामाग्रीहरु सहयोग गरेको रुकुम पूर्वका निर्माण व्यवसायी तथा समाजसेवी मदन शाहले बताए । पोखरामा रहेको कर्मफ्लाइट्स नेपाल कास्कीले विगत लामो समयदेखि दुर्गममा रहेका ६ वटा जिल्लामा शिक्षा र स्वास्थ्य को क्षेत्रमा लगानी गर्दै आएको छ ।
हाल ३ जिल्लामा स्वास्थ्य सामाग्रीहरु सहयोग भैरहेको बताइएकोमा संस्थाका सहयोगी संस्था क्लाउडवेश फाउण्डेशन, टू एड अर्गनाइजेसन, नेपाल इज च्यारिटी यूके, बकेट अफ लभ तथा प्रोजेक्ट ट्रस्ट युके का भुतपूर्व नेपाल स्वंयसेवी र तिनको परिवारको सहायतामा यसप्रकारको आपतकालिन स्वास्थ्य सहायता गरिएको संस्थाका कार्यक्रम संयोजक राजु परियारले बताए ।

