जनताको जनादेशले हैन सर्वोच्चको परमादेशले सरकारबाट बिदा लिँदैछु : ओली

-


     मर्दी न्युज    
     असार २९ गते २०७८ मा प्रकाशित


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ‌ओलीले सर्वोच्च अदालतले जारी गरेको आदेशका कारण सरकारबाट बाहिरिनुपरेको बताएका छन् । राष्ट्रका नाममा सिंहदरबारबाट सम्बोधन गर्दै उनले सर्वोच्च अदालतले अत्यधिक न्यायिक सक्रियतासहित राजनीतिक विषयमा हात हालेर दलीय व्यवस्थामाथि धक्का दिन खोजेको टिप्पणी गरेका छन् ।

सर्वोच्च अदालतले सोमवार प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न परमादेश जारी गरेको थियो । संविधानको धारा ७६ को उपधारा ५ मा ओली दाबी गर्न अयोग्य रहेको पनि परमादेशमा लेखिएको थियो । यसतर्फ उल्लेख गर्दै मंगलबार ओलीले भने, ‘जनताको जनादेशले हैन सर्वोच्चको परमादेशले सरकारबाट बिदा लिँदैछु ।’

सम्बोधनका क्रममा उनले कहिलेकाहीँ मागै नभएका विषयमा पनि हात हालेर गन्तव्यमा पुग्न नसकिने बताएका छन । उनले भने, ‘खेल खेल्ने जिम्मेवारी खेलाडीहरुको हो तर रेफ्री आफैँले खेल खेल्ने चाहना राखेमा समस्या हुन्छ । अदालतको फैसलाबाट दलीय प्रणालीमाथि धक्का दिइएको छ । संविधान संशोधन गराउन खोजिएको छ । राज्यका अङ्गहरुमाथि जनताको विश्वास गुम्ने र जनतामा नैराश्य उत्पन्न भई भयावह दुष्परिणाम ल्याउन सक्ने स्थिति पैदा गराइएको छ ।’

‘मेरो अटल विश्वास जनतामाथि छ । यो नै अन्तिम होइन । सरकारबाट बाहिरिनु परेकामा मलाई रत्तिभर चिन्ता छैन, मैले देश र जनताको हित र सेवालाई ध्यानमा राखेर सम्पूर्ण इमान्दारी तथा विकासलाई नयाँ सोचसहित असाधारणरुपमा अगाडि बढाएँ’, प्रधानमन्त्री ओलीले भने, ‘प्रतिकूल अवस्थामा पनि महामारी नियन्त्रणमा प्रभावकारी काम गर्न सफल भएका छौँ । मलाई प्रचार गर्नु छैन, देश र जनताका लागि काम गर्नु छ । म जहाँ रहेर पनि त्यही भूमिका निर्वाह गर्नेछु ।’