पोखराको लेकसाइडमा १० करोड लगानीमा होटल पौवा

-


     मर्दी न्युज    
     चैत्र ८ गते २०७९ मा प्रकाशित


पोखरा । होटल पौवा प्रालिले सुन्दर पर्यटकीय शहर पोखराको लेकसाइडमा नयाँ होटल सञ्चालनमा ल्याएको छ । बुधबार पत्रकार सम्मेलन गर्दै पौवा प्रालिले आफ्नो ११ औ शाखाको रुपमा लेकसाइडस्थित स्ट्रिट नम्बर १ मा नयाँ होटल सञ्चालनको तयारी पूरा गरेको जनाएको हो ।

११औ शाखाको गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले चैत १० गते औपचारिक उद्घाटन गर्ने प्रालिले जनाएको छ । शुभारम्भको अवसरमा चैत १०, ११ र १२ गते ३ दिनमा पौवा स्वाद उत्सव, पौवाका सबै शाखाका सेफहरुबीच अन्तरशाखा प्रतिस्पर्धा, नेपाली आतिथ्यताबारे सम्मेलनसहित विविध कार्यक्रम आयोजना हुने होटल पौवाका प्रबन्ध निर्देशक विष्णु ज्ञवालीले बताए । पौवामा आएर खानाको स्वाद चाख्न ज्ञवालीले सबैलाई आग्रह समेत उनले गरे ।

कोरोना महामारीले नेपालको समग्र पर्यटन उद्योगलाई नराम्ररी प्रभावित बनाएको उल्लेख गर्दै त्यसमा पनि होटल व्यवसाय झन बढी मारमा परेका उनले बताए ।

‘होटलमा लगानी गर्नु अझै पनि चुनौतीपुर्ण छ । तर, हामी यो चुनौतीलाई अवसरमा रुपान्तरण गर्नका लागि होटल पौवाको विस्तार गर्दै पोखरा आइपुगेका छौं,’ उनले भने, ‘हामीले प्रदान गर्ने सेवा, सत्कार र आतिथ्यता सबै नेपालीपनको हुने प्रतिवद्धता जनाउँछौं ।’

पोखरा आउने पर्यटकलाई परम्परागत नेपाली पहिचानसहितको सेवा दिने उद्देश्यले पौवाले पोखरालाई आफ्नो रोजाईमा पारेको प्रबन्ध निर्देशक ज्ञवालीले जनाए । उनले भने, ‘पौवाले दिने आतिथ्य पोखरा आउने पर्यटकका लागि अविस्मरणीय हुनेछ । पोखराबासी र बाहिरका सबै पाहुनाहरुलाई पुनः पौवामै आउने, पौवामै बस्ने, पौवामै कार्यक्रम गर्ने बनाउन हामीले मन, वचन र कर्मले इमान्दारीपूर्वक सेवा सत्कार दिनेछौं ।’

नेपाली पर्यटन उद्योगमा नेपाली हस्पिटालिटीको पहिलो प्रयोगका रुपमा ‘होटल पौवा’ सुरुवात भएको होटलका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले बताए । नेपाली बजारमा विदेशी हस्पिटालिटी प्रयोग हुँदै आएको सन्दर्भमा पौवामा प्रवेश गर्ने जो कोही पाहुनाले नेपाली सत्कार, नेपाली संस्कार र नेपाली स्वादको अनुभूति गर्ने अध्यक्ष भण्डारीको भनाइ छ ।

१० वटा शाखासहित नेपालीपनको सेवा दिँदै आएको पौवाले ११औं शाखाको रुपमा पोखरामा करिब १० करोड बढी लगानी गरेको छ । पोखरामा अझै थप लगानी गर्न योजना रहेको प्रवन्ध निर्देशक ज्ञवालीले बताए । पौवाको लक्ष्य अनुसार मिशन १०० मा पुग्दा पौवाको लगानी अरवौं पुग्ने होटलले जनाएको छ ।

सुन्दर गार्डेनसहितको सुविधासम्पन्न होटल भवनमा सुपर डिलक्स र मिनी सुईट गरी ३९ वटा सुविधा सम्पन्न कोठाहरु छन् । कोठाबाटै माछापुच्छ्रे र अन्नपूर्ण हिमालसहित शान्तिस्तुपा र रानीवनको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ ।

होटलमा दुई वटा सेमिनार हल र कन्फ्रेन्स हल रहेका छन्, जहाँ एकैपटक फरक फरक बैठक, सेमिनार लगायतका विविध कार्यक्रम गर्न सकिन्छ । पौवा पोखराको मुख्य आकर्षण एकहजार बढी क्षमताको ‘फेवा हल’ हो । फेवा हलमा एकैपटक एकहजार बढीको उपस्थितिमा सभा, सम्मेलन, विवाहउत्सव लगायतका विविध मनोरञ्जनात्मक कार्यक्रम गर्न सकिन्छ ।