
काठमाडौँ, १८ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सहितका प्रमुख नेताहरुविरुद्ध जिल्ला अदालत काठमाडौँले पक्राउ पुर्जी जारी गरेको छ । उनीहरुविरुद्ध जिल्ला अदालत काठमाडौँमा राज्यविरुद्धको कसुरमा ४ वर्षअघि मुद्दा दायर भएको थियो ।
अदालतमा राज्यविरुद्धको कसुरमा चार वर्षअघि दायर गरिएको मुद्दामा विप्लवसहित उक्त पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड), अखिल नेपाल किसान महासङ्घ क्रान्तिकारीका अध्यक्ष राजु कार्की, माइला लामाविरुद्ध उक्त पक्राउ पुर्जी जारी गर्दै अदालतमा उपस्थित हुन भनेको हो ।
“यो पक्राउ पूर्जीको सूचना प्रकाशित भएका मितिले बाटोका म्यादबाहेक ३५ दिनभित्र आफूसँग भएको सबुद प्रमाणसहित तपाई आफैँ उपस्थित हुनुहोला”, उक्त पक्राउ पुर्जीमा भनिएको छ, “तपाईहरुले म्याद गुजारी बसेमा मुद्दा कानुन बमोजिम हुनेछ, पछि तपाईको उजुरबाजुर लाग्ने छैन ।”
अदालतको विसं २०८० मङ्सिर १० गतेको आदेशअनुसार मुलुकी फौजदारी कार्यविधिसंहिता २०७४ को ५८ (१३) बमोजिम ३५ दिनको पक्राउ पुर्जी जारी गर्न दिएको आदेशअनुसार सूचना प्रकाशित गरिएको बताइएको छ । विसं २०७६ असोज ९ गते निजहरुमाथि राज्यविरुद्धको मुद्दा दायर भएको थियो । निजहरुले सङ्घीय एकाइबीच तथा विभिन्न जातजाति वा सम्प्रदायबीचको सम्बन्धमा खलल पारेर राज्यविरुद्ध कसुर गरेको अभियोग लगाइएको छ । प्रहरीले निजहरु फरार भएको भनेपछि अदालतले ३५ दिनभित्र पक्राउ पुर्जी जारी गर्न आदेश गरेको थियो ।
सोही आदेशअनुसार जिल्ला अदालत काठमाडौँ प्रशासन शाखाले आज उक्त सूचना जारी गरेको हो ।

