पोखरामा पर्वतीय महोत्सव आजदेखि

-


     मर्दी न्युज    
     मंसिर २२ गते २०८० मा प्रकाशित


पोखरा, २२ मङ्सिर । अन्तर्राष्ट्रिय पर्वतीय दिवसका अवसरमा पोखरामा आजदेखि पर्वतीय महोत्सव शुरु हुने भएको छ । नेपाल पर्वतारोहण सङ्घको आयोजनामा मङ्सिर २६ गतेसम्म पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय, रातोपैह्रोमा आठौँ पर्वतीय महोत्सव हुने भएको हो ।

बर्सेनि गर्दै आइरहेको महोत्सव यस वर्ष पाँच दिनसम्म मनाइने छ । यसअघिका वर्षहरुमा तीन दिन मनाउने गरिएका थिए ।

संयुक्त राष्ट्रसङ्घले डिसेम्बर ११ लाई अन्तर्राष्ट्रिय पर्वतीय दिवस मनाउँदै आएको छ । सोही दिन पारेर सङ्घले आठ वर्षदेखि निरन्तर पर्वतीय महोत्सव गर्दै आएको छ ।

यस वर्षको महोत्सवमा ‘बर्डस कन्जरभेसन’, पर्वतारोहण र पर्वतीय जीवनबारे छ वटा वृत्तचित्र तथा फोटो प्रदर्शनी, विभिन्न खेलका प्रतिस्पर्धा हुनेछ । महोत्सवको पाँच दिन नै पर्वतारोहण र पर्वतीय जीवनबारे वृत्तचित्र प्रदर्शन गरिने आयोजकले जनाएको छ । महोत्सवमा पासाङ, माउन्टेन म्यान, सोफी लाभाड, द सेकेन्ड समिट, अई–डेला हट्स भ्यालिस र एभरेस्ट म्यान वृत्तचित्र मञ्चन हुनेछन् ।

यस वर्षको महोत्सवमा बर्डस कन्जरभेसनसँगको सहकार्यमा ‘मिसअन्डरस्टुड बर्डस’ नामक नाटक प्रदर्शन मुख्य आकर्षणको रूपमा रहने जनाएको छ । उक्त नाटक ललितपुरको परोपकारी विद्यालय चिल्ड्रेन एण्ड युथ फस्र्टका विद्यार्थीले मञ्चन गर्नेछन् ।

विद्यार्थीले स्टेजमा गिद्धको भेषमा मास्क लगाई गिद्धको महत्त्व, नेपालका चरा तथा जैविक विविधतासम्बन्धी ज्ञान जनसाधारणमा पु¥याउने आयोजकले बताएका छन् ।

यस्तै महोत्सवमा पर्वतारोहणसम्बन्धी विभिन्न विधामा कीर्तिमान बनाएका पर्वतारोहीको फोटो प्रदर्शनीसमेत गरिने छ । यस्तै यस वर्ष पहिलो पटक प्रतियोगितामा ‘टग अफ वार’ समावेश गरिएको छ । यसबाहेक महोत्सवमा छेलो प्रतियोगिता, जिपलाइन, दोहोरी गीत पनि समावेश गरिएको आयोजकले जानकारी दिए ।