
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराष्ट्रपतिको हैसियतमा प्राप्त सरकारी सेवा र सुविधा नलिने निर्णय गरेकी छन्।
उक्त निर्णयअनुसार उनले सेवा-सुविधा नलिने सम्बन्धी पत्र बुधबार गृह मन्त्रालयमा दर्ता गराएको मन्त्रालयका सूचना अधिकारी रवीन्द्र आचार्यले जानकारी दिए ।
गत शनिबार मात्रै पूर्व राष्ट्रपति भण्डारीले सामाजिक-आर्थिक रूपान्तरण, सुखी जनता र समुन्नत नेपाल निर्माण गर्ने कार्य अधुरो रहेको भन्दै पुनः नेकपा (एमाले) को सक्रिय राजनीतिमा फर्किने घोषणा गरेकी थिइन्।
सक्रिय राजनीतिमा फर्किएको अवस्थामा पूर्व राष्ट्रपतिको हैसियतमा सुविधा लिँदा नैतिक प्रश्न उठ्ने भएकाले उनले स्वेच्छाले सेवा-सुविधा त्याग गर्ने निर्णय गरेको उनको सचिवालयले जनाएको छ ।

