मुस्ताङस्थित कोरला नाका विकल्पका रूपमा तयार

-


     मर्दी न्युज    
     कार्तिक १० गते २०८२27 मा प्रकाशित


नेपाल र चीनबीच लामो समयदेखि सञ्चालनमा रहेका दुई व्यापारिक नाका रसुवागढी र तातोपानीमा पहिरोले अवरोध गर्दा मुस्ताङस्थित कोरला नाका विकल्पका रूपमा तयार भएको छ ।

भन्सार विभागका अनुसारका चालु आर्थिक वर्ष २०८२/८३ पहिलो त्रैमासमा यो नाका हुँदै ५ अर्ब रुपैयाँभन्दा बढीको आयात–निर्यात भएको छ ।

मुस्ताङ नाकाबाट ५ अर्ब २७ करोडको वस्तु आयात भएको छ भने ९१ लाख ३२ हजार रुपैयाँ बराबर वस्तु चीन निर्यात भएको छ । यस नाका हुँदै पछिल्ला दिनमा विद्युतीय सवारीसाधन (ईभी), लत्ताकपडा तथा फलफूल आयात उल्लेख्य भएको थियो ।

२४ असारका दिन रसुवा जिल्लास्थित लेहेन्दे खोलामा आएको बाढीका कारण रसुवा भन्सार कार्यालय पूर्णरूपमा बन्द भएको थियो । तातोपानी नाकामा समेत कोदारी राजमार्गमा आएको पहिरोले लामो समय यातायात बन्द भयो । त्यसपछि नेपाल र चीनले वैकल्पिक नाकाका रूपमा कोरला नाका सञ्चालनमा ल्याएका हुन् । यो नाका ३० भदौदेखि पूर्णरूपमा सञ्चालनमा आएको हो ।

पूर्णरूपमा सञ्चालनमा आएको यो नाकाले एक महिना अवधिमै ५ अर्ब रुपैयाँभन्दा धेरैको व्यापार गर्न सफल भएको छ । यो नाकामा आशिकुडा प्रणाली सञ्चालनमा आइसकेको छ ।

त्यस्तै नेपाल राष्ट्र बैंकले समेत मुस्ताङ भन्सार कार्यालयलाई समेत चिनियाँ भूभाग हुँदै प्रतीतपत्र मार्फत सामान आयात गर्न एकीकृत परिपत्र २०८१ मा समावेश गरी सहजीकरण गरेको थियो ।

तथ्यांक अनुसार पछिल्लो तीन महिनामा रसुवागढी नाकाबाट ३८ करोड ८१ लाख रुपैयाँ बराबर वस्तु आयात भएको छ । निर्यात भने शून्य देखिन्छ ।

निर्यात शून्य रहेको तातोपानी नाकाबाट भने ९ अर्ब ४४ करोड रुपैयाँ बराबर वस्तु आयात भएको छ । चीनसँगको कुल व्यापार भने आयाततर्फ १ खर्ब ४ अर्ब ८९ करोड र निर्याततर्फ १८ करोड ६४ लाख रुपैयाँ बराबर छ ।