प्रसारण लाइन निर्माणका लागि एक हजार रुख कटान गरिँदै

-


     मर्दी न्युज    
     वैशाख २७ गते २०८३ मा प्रकाशित


तनहुँ । तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत निर्माणाधीन दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणका लागि चितवन खण्डमा पर्ने रुख कटानको अनुमति प्राप्त भएको छ ।

डिभिजन वन कार्यालय चितवनले २०८३ वैशाख २५ गतेदेखि लागू हुनेगरी प्रसारण लाइनको मार्गधिकारमा पर्ने राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रका रुखहरू कटान, मुछान र घाटगद्दीका लागि आयोजनालाई वन प्रवेश इजाजतपत्र प्रदान गरेको हो । यस सम्बन्धमा आयोजना र डिभिजन वन कार्यालयबीच औपचारिक सम्झौता सम्पन्न भएसँगै निर्माण कार्यले थप गति लिने आयोजनाका प्रमुख श्यामजी भण्डारीले जानकारी दिए । उनका अनुसार भरतपुर महानगरपालिका–१ स्थित सतनचुली संरक्षित वन र सतनचुली सामुदायिक वन तथा वडा नं २९ अन्तर्गतका अकलादेवी र सिद्धदेवी सामुदायिक वन क्षेत्रका विभिन्न प्रजातिका एक हजार २६३ रुख कटान गरिनेछ । काटिएका रुखलाई सम्बन्धित सामुदायिक वन उपभोक्ता समूह र सबडिभिजन वन कार्यालयले तोकेको सुरक्षित स्थानमा घाटगद्दी गर्नुपर्ने व्यवस्था गरिएको छ ।

नेपाल सरकार मन्त्रिपरिषद्को २०७९ मङ्सिर २० गतेको निर्णयअनुसार यो प्रसारण लाइन निर्माणका लागि चितवन र तनहुँ जिल्लाको कुल ९२.७३ हेक्टर वन क्षेत्र प्रयोग गर्न तथा त्यहाँ रहेका नौ हजार १२७ रुख हटाउन स्वीकृति दिइएको थियो । जसमध्ये चितवनमा २५.२७ हेक्टर र तनहुँमा ६७.४६ हेक्टर वन क्षेत्र पर्दछ । सोही निर्णयका आधारमा २०८२ पुस ३० गते आयोजना र वन तथा भूसंरक्षण विभागबीच सम्झौता भएको थियो । उक्त सम्झौतापछि डिभिजन वन कार्यालय, आयोजना र सामुदायिक वन समूहहरूको समन्वयमा रुख छपान कार्य अघि बढाइएको हो ।

चितवन खण्डमा कटान सुरु हुँदा तनहुँ जिल्लाअन्तर्गत पर्ने रुखको छपान कार्य भने हाल जारी रहेको आयोजनाले जनाएको छ । कुल ५० करोड ५० लाख अमेरिकी डलर लागत अनुमान गरिएको यस आयोजनामा एसियाली विकास बैंक (एडिबी), जाइका, युरोपियन लगानी बैंक, नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानी रहेको छ । आयोजनाबाट विद्युत् उत्पादन सुरु भएको पहिलो १० वर्षसम्म वार्षिक औसत ५८ करोड ७७ लाख युनिट विद्युत् उत्पादन हुनेछ । उक्त आयोजनाबाट विद्युत् उत्पादनपछि प्राप्त हुने बहाव र मादी नदीको पानीलाई प्रयोग गरी तल्लो तटीय क्षेत्रमा १२६ मेगावाटको तल्लो सेती जलविद्युत् आयोजनाको विकास प्रक्रियासमेत अघि बढाइएको छ । रासस