पृथ्वीचोकमा सार्वजनिक जग्गामा बनेका संरचना हटाउन सुरु

-


     मर्दी न्युज    
     जेठ १४ गते २०८३ मा प्रकाशित


पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित सार्वजनिक जग्गामा बनेका संरचना हटाउन थालेको छ । सडक विस्तार गर्ने उद्देश्यले बिहीबार ती स्थानमा डोजर चलाइएको हो ।

आज बिहानदेखि सहारा क्लब, हिमाली सांस्कृतिक परिवार, सामुदायिक प्रहरी सेवाका संरचनामा डोजर चलाइएको छ । ट्रेड युनियन संगठन र बिभिन्न संस्थाले पोखरा उपत्यका नगर विकास समिति मातहको जग्गामा संरचना बनाएर भाडामा लगाउँदै आइरहेका थिए । नेकपा निकट अखिल नेपाल ट्रेड युनियन महासंघले भने यसअघि नै अस्थायी संरचना भत्काएर स्थायी संरचनाको चाबी हस्तान्तरण गरेको थियो ।

हङकङ बजार अगाडिका व्यवसायीले बुधबार राति नै सामान सारेर ठाउँ खाली गरिदिएका थिए । साहारा क्लबले सञ्चालन गरेको सार्वजनिक शौचालय पनि यही ठाउँमा छ । महानगरले संरचना हटाउन ३५ दिनको अन्तिम सूचना दिएको थियो । यो ठाउँमा सहाराले सञ्चालन गरेको सार्वजनिक शौचालयसमेत भत्काउन शुरु गरिएको छ । यहाँका संरचना हटाएर नयाँबजारतर्फ आउने दुईतर्फी सडक चौडा गराइने मेयर धनराज आचार्यले बताएका छन् ।

नगर प्रमुख आचार्यले भने, ‘लामो समयदेखि संस्थाले उपभोग गरेको जग्गा अब सडक चौडा बनाउन प्रयोग हुनेछ ।’ उनले यस कार्यमा सहयोग गर्ने सरोकारवाला प्रति आभार पनि प्रकट गरे । महानगरले सोही क्षेत्रमा रहेका सुकुम्वासीको पनि उचित व्यवस्थापन गर्ने तयारी गरेको छ । सडक विस्तार भएपछि यस क्षेत्रको यातायात व्यवस्थापन सहज हुने विश्वास गरिएको छ ।

महानगरको आग्रहपछि अमरसिंह चोकका टहरा व्यवसायी आफैले हटाएका छन् भने फिर्केमा डोजर चलिरहेको छ ।