आयोग तथा अध्ययन प्रतिवेदनहरूको समग्र समीक्षा गरी आवश्यक कारवाही अघि बढाइने

-


     मर्दी न्युज    
     जेठ १७ गते २०८३ मा प्रकाशित


काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले विभिन्न आयोग तथा अध्ययन निकायबाट तयार गरिएका प्रतिवेदनहरूको एकीकृत अध्ययनपछि आवश्यक निर्णय तथा कारबाही अघि बढाइने स्पष्ट पारेका छन्।

आइतबार प्रतिनिधि सभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले विशेष गरी जेनजी आन्दोलनसम्बन्धी विषयमा राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको प्रतिवेदनसहित विगतमा विभिन्न समयका आयोग तथा अध्ययन कार्यदलबाट तयार भएका दस्ताबेजहरू सरकारले समग्र रूपमा समीक्षा गर्ने बताए।

उनका अनुसार सरकारले हालसम्म प्राप्त भएका सबै प्रतिवेदनलाई छुट्टाछुट्टै नभई एकीकृत दृष्टिकोणका साथ अध्ययन गर्ने तयारी गरेको छ। त्यसपछि आवश्यक ठहरिएका विषयमा कानुनी तथा प्रशासनिक प्रक्रिया अघि बढाइने उनले उल्लेख गरे।

प्रधानमन्त्री शाहले संसदमा काँग्रेस सांसद अर्जुननरसिंह केसीले उठाएको प्रश्नको जवाफ दिने क्रममा सरकारको यस्तो नीति सार्वजनिक गरेका हुन्। उनले प्रतिवेदनमा उल्लेख भएका निष्कर्षलाई आधार बनाएर उपयुक्त निर्णयमा पुगिने पनि स्पष्ट पारेका छन्।