गन्तव्यमा नपुगी सरकारले ब्रेक लगाउँदैन : प्रधानमन्त्री बालेन्द्र शाह

-


     मर्दी न्युज    
     असार ७ गते २०८३ मा प्रकाशित


चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाहले वर्तमान सरकार गन्तव्यमा नपुगी नरोकिने बताएका छन् । चितवनमा आइतबार सुरु भएको पार्टीको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै उनले सरकार एक्सप्रेस वेमा हिँडिरहेको दाबी गरे । सरकार सञ्चालनलाई गाडीसँग तुलना गर्दै उनले लक्ष्यमा पुगेपछि मात्रै ब्रेक लाग्ने स्पष्ट पारे ।

हुटिङबाट सुरु भएको अभियान अहिले संस्थागत भएर महाधिवेशनसम्म आइपुगेको उनले बताए । विभिन्न अतिथिले सरकारलाई गाडीको संज्ञा दिँदै ब्रेक पनि लगाउनु पर्ने सुझाव दिएका थिए । त्यसको जवाफ दिँदै प्रधानमन्त्री शाहले भने, ‘हाम्रो गाडी लोकल रोडमा हिँडेको होइन, एक्सप्रेस वेमा हिँडेको हो । गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ, त्योभन्दा अगाडि ब्रेक लाउन जरुरी छैन ।’ उनले सरकार नियन्त्रणबाहिर नरहेको र वातावरण मिलेर अगाडि बढेको समेत उल्लेख गरे ।

शाहले रास्वपाको उदयलाई हावा नभई बाढीको संज्ञा दिएका छन् । जनताको भोटलाई हावासँग तुलना गर्नेहरुलाई जवाफ दिँदै उनले आफूहरुले खोला नै फर्काएको बताए । ‘हामीले कुनै हावा चलाएका छैनौं, हामीले बाढी ल्याएर खोला फर्काएका हौं,’ उनले भने । उनले खोला एकपटक सही बाटोमा फर्किएपछि निरन्तर त्यही बाटोमा बगिरहने तर्क गरे ।

पार्टी र सरकार अहिले चर्चाको केन्द्रमा रहेको विषयमा पनि उनले धारणा राखेका छन् । जनताले नै आफूहरुलाई स्पटलाइटमा ल्याएको उनको भनाइ छ । ‘हामी स्पटलाइटमा आएका होइनौं, जनताले ल्याएका हुन् र जनता सधैं स्पटलाइटमै रहन्छन्,’ उनले बताए । नेता शाहले आफूहरुले दिएको प्रकाश नेताका लागि मात्र नभई जनताका लागि भएको उल्लेख गरे ।

सरकारको अबको प्राथमिकता विकास र सुशासन हुने प्रधानमन्त्री शाहले बताए । रास्वपा प्रतिशोध साध्ने नभई विकास गर्ने र काम गर्ने पार्टी भएको उनले स्पष्ट पारे । पुराना कुरा लिएर निहुँ खोज्ने पक्षमा आफूहरु नरहेको उनको भनाइ छ । तर सरकारी सम्पत्तिको दोहन भएको छ भने त्यहाँ निहुँ खोज्नुपर्ने उनले बताए । सरकारी रकमको दुरुपयोग गर्नेहरुलाई नछोड्ने उनले चेतावनी दिएका छन् ।

भ्रष्टाचारका पुराना फाइलहरु खोल्ने र छानबिन गर्ने विषयमा उनले दृढता व्यक्त गरे । ‘सरकारी सम्पत्तिको दोहन भएको छ भने त्यहाँ निहुँ खोज्छौं, अख्तियारलाई ५ घण्टा होइन ५ वर्ष राखेर भए पनि सरसल्लाह गरिन्छ,’ शाहले भने । आफूहरु नियम र कानून मिचेर नभई विधिमै बसेर काम गर्ने उनले बताए । सामाजिक सञ्जालमा हेर्दा अनियन्त्रित देखिए पनि सबै कुरा नियन्त्रणमै रहेको उनले दाबी गरे ।

प्रधानमन्त्री शाहले सीमाको विषयमा पनि स्पष्ट धारणा राखेका छन् । कालापानी र लिपुलेकको विषयमा नेपालसँग बलियो प्रमाण रहेको उनले बताए । प्रमाण जुटाउनका लागि आवश्यक परे बेलायती शासनकालको तथ्य पनि ल्याउने उनले उल्लेख गरे । ‘हामीसँग प्रमाण छ र हामी ल्याउँछौं, छिमेकीहरुसँग आफैं कुरा गरेर मिलाउँछौं,’ उनले भने । आफ्नो राष्ट्रियताको विषयमा कसैले आशंका गर्न नपर्ने उनले बताए ।

पार्टीको आन्तरिक जीवन र संगठनका बारेमा उनले कार्यकर्तालाई निर्देशन दिएका छन् । महाधिवेशनमा गुट र उपगुट बनाउने संस्कार त्याग्नुपर्ने उनले बताए । समूह बनाएर राजनीतिक पद हत्याउने खेलमा नलाग्न उनले आग्रह गरे । ‘राम्रो नेता बन्न समूहको होइन, जनताको माया र आस्था जित्नुपर्छ,’ उनले भने । अहिले नै गुटको बीउ रोपे पछि रुख बनेर काट्नुपर्ने अवस्था आउने भन्दै उनले सचेत गराए ।

रास्वपाले हरेक चुनावमा एउटै एजेन्डा नबोक्ने प्रधानमन्त्री शाहले बताए । यही कार्यकालमा सुकुम्बासी र सहकारी समस्या समाधान गर्ने उनले प्रतिबद्धता जनाए । ‘यही कार्यकालमा सुकुम्बासी र सहकारी समस्या समाधान गर्छौं, अर्को चुनावमा नयाँ एजेन्डा बोकेर जान्छौं,’ उनले भने । एउटै समस्यालाई वर्षौंसम्म चुनाव जित्ने माध्यम नबनाउने उनले स्पष्ट पारे ।

अहिलेको सरकार एकल पार्टीको सरकार भएकाले सबै कार्यकर्ता र सदस्य प्रधानमन्त्री सरह भएको उनले बताए । पार्टीको केन्द्रीय सदस्य वा कुनै पद नपाए पनि चिन्ता नगर्न उनले आग्रह गरे । कुनै सदस्यलाई राम्रो योजना लागू गर्न मन लागेमा सिधै पार्टीमा ल्याउन उनले आह्वान गरे । महाधिवेशनपछि ५ वर्ष देशका बारेमा सोच्नुपर्ने भन्दै उनले सबैलाई एकजुट हुन आग्रह गरे । चितवनमा सुरु भएको महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने र आगामी कार्यदिशा तय गर्ने बताइएको छ ।