
भेनेजुएलामा बुधबार साँझ आएको शक्तिशाली भूकम्पमा कम्तीमा ३२ जनाको मृत्यु भएको तथा ७०० जना घाइते भएको कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिग्जले जानकारी दिएका छन । उद्धार तथा खोजी अभियान जारी रहेकाले मृतकको सङ्ख्या अझै बढ्न सक्ने चेतावनी पनि उनले दिएको छ ।
देशका विभिन्न क्षेत्रमा ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प आएपछि दर्जनौँ भवनहरू भत्किएका छन् भने आपत्कालीन टोलीहरू प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा खटिएका छन् ।
कार्यवाहक राष्ट्रपति रोड्रिग्जका अनुसार ला गुआइरा राज्य सबैभन्दा बढी प्रभावित भएको छ । उहाँले उक्त क्षेत्रले गम्भीर मानवीय सङ्कटको सामना गरिरहेको बताए ।
उनका अनुसार धेरै भवनहरू ध्वस्त भएका छन् र भग्नावशेषमा फसेका मानिसहरूको उद्धारका लागि सुरक्षाकर्मी तथा आपत्कालीन टोलीहरू निरन्तर परिचालन गरिएका छन् ।
रोड्रिग्जले ला गुआइरालाई विपद् प्रभावित क्षेत्रका रूपमा वर्णन गर्दै जीवन रक्षा अहिले सरकारको प्रमुख प्राथमिकता रहेको बताए । उनले उद्धारकर्मीहरू कठिन परिस्थितिमा मानिसहरूको ज्यान बचाउन निरन्तर प्रयासरत रहेको उल्लेख गरे ।
सरकारले प्रभावित क्षेत्रमा राहत तथा उपचार सेवालाई तीव्र बनाएको छ भने क्षतिको वास्तविक विवरण संकलन गर्ने कार्य पनि जारी रहेको जनाइएको छ । एजेन्सी

