
काठमाडौँ । इन्धनको बजार मूल्यमा आएको गिरावटपछि सरकारले अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा दर घटाएको छ।
यातायात व्यवस्था विभागले बिहीबार सूचना जारी गर्दै यात्रुवाहक तथा मालवाहक सार्वजनिक सवारी साधनको भाडा २ प्रतिशतले घटाइएको जनाएको हो।
विभागका अनुसार अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा निर्धारणमा प्रयोग हुने वैज्ञानिक स्वचालित प्रणालीअनुसार इन्धनको मूल्य ५ प्रतिशत वा सोभन्दा बढी बढे वा घटेमा भाडा दर स्वतः समायोजन हुने व्यवस्था छ।
पछिल्लो पटक भाडा समायोजन गर्दा डिजेलको औसत मूल्य प्रतिलिटर १२५ रुपैयाँ ५३ पैसा रहेकोमा हाल घटेर १२३ रुपैयाँ ५३ पैसा कायम भएपछि भाडा दर पुनः समायोजन गरिएको हो।
सूचनाअनुसार स्वचालित प्रणालीका आधारमा यात्रुवाहक सार्वजनिक सवारी, पहाडी मार्गमा सञ्चालन हुने मालवाहक सवारी तथा तराई क्षेत्रमा सञ्चालन हुने मालवाहक सवारीको भाडा क्रमशः ९.६५ प्रतिशत, १२.९ प्रतिशत र १४.३ प्रतिशतसम्म घट्नुपर्ने अवस्था देखिएको थियो। तर, तत्कालीन परिस्थितिलाई ध्यानमा राख्दै नेपाल सरकार (मन्त्रिस्तर) को २०८३ असोज १२ गतेको निर्णय अनुसार सबै प्रकारका सार्वजनिक सवारी साधनको भाडा ५ प्रतिशत मात्रै बढाइएको थियो।
विभागले त्यसबेला पूर्ण रूपमा समायोजन नभएको भाडा दर र हाल इन्धनको मूल्यमा आएको कमीलाई समेत मध्यनजर गर्दै यात्रुवाहक तथा मालवाहक सार्वजनिक सवारी साधनको भाडा तत्कालका लागि २ प्रतिशतले घटाउने निर्णय गरिएको जनाएको छ।
नयाँ भाडा दर २०८३ असार १९ गतेदेखि लागू भएको विभागले जनाएको छ। यो व्यवस्था दुई वा सोभन्दा बढी प्रदेश भएर सञ्चालन हुने अर्थात् राष्ट्रियस्तरका अन्तर प्रदेश सार्वजनिक यातायात सेवामा लागू हुनेछ। विभागले संशोधित भाडा सूचीसमेत सार्वजनिक गरेको छ।

