ग्रामीण शिक्षामा डिजिटल रूपान्तरणको नयाँ अध्याय

-


     मर्दी न्युज    
     असार १९ गते २०८३ मा प्रकाशित


बौदीकाली, नवलपरासी (पूर्व) । बौदीकाली गाउँपालिका–२ स्थित देढगाउँ माध्यमिक विद्यालयमा नवनिर्मित अत्याधुनिक सूचना तथा सञ्चार प्रविधि (ICT) कम्प्युटर प्रयोगशालाको औपचारिक उद्घाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।

उक्त प्रयोगशालाको कर्माफ्लाइट्स फाउण्डेशन नेपाल र एडुटेक नेपालले संयुक्त रूपमा करिब रु. ८ लाख ५० हजार बराबरको सहयोग गरेका छन् भने विद्यालय तथा बौदीकाली गाउँपालिकाले करिब रु. ४ लाख बराबरको समानीकरण (Matching Fund) लगानी गरेका छन्।

विद्यालयका प्रधानाध्यापक गंगा विश्वकर्माले स्वागत मन्तव्य व्यक्त गर्दै शिक्षक तालिमका क्रममा कर्माफ्लाइट्ससँगको लामो सहकार्यबाट विद्यालयमा सूचना तथा सञ्चार प्रविधि (ICT) प्रयोगशाला स्थापना गर्ने सपना साकार भएको उल्लेख गरे । उनले विद्यालयमा गर्मी बिदाको समयमा समेत कम्प्युटरको प्रयोगात्मक कक्षा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नं. २ का अध्यक्ष श्यामसुन्दर श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बौदीकाली गाउँपालिकाका अध्यक्ष प्रकाश ओझा प्रमुख अतिथि रहेका थिए भने गाउँपालिका शिक्षा समितिका अध्यक्ष होमनाथ भट्टराई विशिष्ट अतिथि रहेका थिए ।

कार्यक्रममा एडुटेक नेपालका पश्चिम क्षेत्र प्रमुख आकाश कुमार दास, कर्माफ्लाइट्स फाउण्डेशन नेपालका निर्देशक प्रेमबहादुर कुँवर, आईटी अधिकृत सुभाष पौडेल, जनप्रतिनिधि, शिक्षक, अभिभावक, विद्यार्थी तथा स्थानीय समुदायको उल्लेखनीय सहभागिता रहेको थियो।

विद्यालयमा करिब दुई महिना अघिदेखि सञ्चालनमा आएको उक्त प्रयोगशाला औपचारिक रूपमा उद्घाटन गरिएको हो।

विद्यार्थीहरूले नेपालको सांस्कृतिक तथा भौगोलिक विविधतालाई झल्काउने आकर्षक स्वागत नृत्य प्रस्तुत गरेका थिए।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा प्रमुख अतिथि तथा विशिष्ट अतिथिबाट सूचना तथा सञ्चार प्रविधि (ICT) प्रयोगशालाको ब्यानर अनावरण, हस्ताक्षर, शिलालेख अनावरण तथा रिबन काटेर प्रयोगशालाको औपचारिक उद्घाटन गरिएको थियो। अतिथिहरूले प्रयोगशालाको अवलोकन गर्दै प्रयोगशालाभित्र कक्षा ६ देखि १२ सम्मका प्रतिनिधि विद्यार्थीहरूसँग प्रत्यक्ष अन्तरक्रिया गरेका थिए।

प्रयोगशालाको अवलोकनका क्रममा कर्माफ्लाइट्स फाउण्डेशन नेपालका आईटी अधिकृत सुभाष पौडेलले थिन क्लाइन्ट आर्किटेक्चरमा आधारित २१ कार्यस्थलयुक्त प्रयोगशालाको संरचना, सञ्चालन प्रणाली, डिजिटल पुस्तकालय, शिक्षक तथा विद्यार्थी स्रोत केन्द्रका रूपमा यसको उपयोगिता तथा डिजिटल शिक्षण–सिकाइमा यसले पुर्‍याउने योगदानबारे प्रत्यक्ष प्रदर्शन (डेमो) प्रस्तुत गरे। प्रयोगशाला सञ्चालनमा आएपछि आफूहरू थप सिक्न उत्साहित भएको विद्यार्थीहरूले बताएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै एडुटेक नेपालका पश्चिम क्षेत्र प्रमुख आकाश कुमार दासले यस परियोजनामा सहयोग गर्ने सबै साझेदार संस्था तथा बौदीकाली गाउँपालिकाप्रति आभार व्यक्त गरे। उनले एडुटेक नेपालका संस्थापक माइक चिजोल्म र चेरिल चिजोल्म सन् १९८४ देखि नेपालसँग जोडिँदै आएको स्मरण गर्दै नेपाल र न्यूजिल्याण्डबीचको जनस्तरको मित्रताको निरन्तरता स्वरूप देशभर सूचना तथा सञ्चार प्रविधि (ICT) शिक्षा विस्तार भइरहेको बताए। सगरमाथाका प्रथम आरोही सर एडमण्ड हिलारी र नेपाली शेर्पाबीचको ऐतिहासिक सहकार्यलाई स्मरण गर्दै उनले शिक्षा क्षेत्रमा पनि त्यही मित्रताको भावना अघि बढिरहेको उल्लेख गरे।

उनले निकट भविष्यमा विकास भइरहेको ‘एडुटेक लर्न एप’ले कम्प्युटर शिक्षालाई अझ प्रभावकारी बनाउने जानकारी दिए। साथै, कक्षा १२ पछि नेपालमै सूचना प्रविधि विषय अध्ययन गर्न इच्छुक विद्यार्थीका लागि सञ्चालन भइरहेको छात्रवृत्ति कार्यक्रमको उल्लेख गर्दै त्यसका लागि योग्य र सक्षम बन्न विद्यार्थीहरूलाई अध्ययनमा निरन्तर मेहनत गर्न प्रेरित गरेका थिए।

कर्माफ्लाइट्स फाउण्डेशन नेपालका निर्देशक प्रेमबहादुर कुँवरले वार्म नेस्ट फाउण्डेशन (नेदरल्याण्ड्स) र एडुटेक नेपालको सहयोगबिना यो पहल सम्भव नहुने उल्लेख गर्दै विद्यार्थी, शिक्षक तथा समुदायलाई प्रयोगशालाको अधिकतम सदुपयोग गर्न आग्रह गरे। उनले विद्यार्थीहरूलाई प्रेरित गर्दै भने, “किबोर्डका अक्षरहरू तपाईंहरूको औँलाले घोटिएर मेटिए पनि चिन्ता नगर्नुहोस्, बरु तपाईंहरू उत्कृष्ट औँलाका शिल्पी बन्नुहोस्। यो प्रयोगशाला संसारलाई हेर्ने एउटा झ्याल मात्र होइन, तपाईंहरूको ज्ञानचक्षु बनोस्। ग्रामीण क्षेत्रमा जन्मिएका विद्यार्थीहरूले पनि शहरका विद्यालयका विद्यार्थीसरह गुणस्तरीय शिक्षा पाउने अधिकार राख्छन्।”

विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष बलप्रसाद थाडाले आफ्नो कार्यकालमा सुरु गरिएको यो सपना पूरा भएकोमा गर्व व्यक्त गर्दै आफूहरूको पुस्ताले हातमा घडी र कानमा रेडियोसमेत नदेखेको समयबाट आज विद्यालयमै सूचना तथा सञ्चार प्रविधि (ICT) प्रयोगशाला स्थापना हुनुलाई ऐतिहासिक उपलब्धि भएको बताए।

हाल नर्सरीदेखि कक्षा १२ सम्म करिब ४५० विद्यार्थी अध्ययनरत रहेको विद्यालयले कक्षा १२ को परीक्षामा ९६ प्रतिशत उत्तीर्ण दर हासिल गर्दै उत्कृष्ट नतिजा कायम गरेको जानकारी पनि कार्यक्रममा दिइएको थियो।

प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष प्रकाश ओझाले बौदीकाली गाउँपालिकाले शिक्षालाई पहिलो प्राथमिकतामा राखेर निरन्तर लगानी गरिरहेको उल्लेख गर्दै भने, “आजभन्दा करिब २५ वर्षअघि हामी माध्यमिक तहमा पढ्दा पहिलो पटक कम्प्युटरको मोनिटर छोएका थियौँ। आज तपाईंहरूको औँला सहज रूपमा किबोर्डमा चलिरहेको देख्दा भविष्यप्रति ठूलो आशा जागेको छ। यी कम्प्युटरहरू केवल मोनिटर होइनन्, यिनको भित्र एउटा संसार अटाएको छ। त्यस संसारलाई खोज्नुहोस्, सिक्नुहोस् र आफ्नो भविष्य आफैँ निर्माण गर्नुहोस्।”

उनले बौदीकालीजस्ता दुर्गम विद्यालयमा समेत शहरी विद्यालयसरहको डिजिटल पूर्वाधार पुगेकाले अब गुणस्तरीय शिक्षा लिनका लागि पोखरा वा काठमाडौं धाउनुपर्ने बाध्यता क्रमशः अन्त्य हुँदै जाने विश्वास व्यक्त गर्नुभयो। साथै भविष्यमा यही विद्यालयका विद्यार्थीहरूले समाजको नेतृत्व गर्ने अपेक्षा व्यक्त गर्दै सकारात्मक सोच, असल संस्कार र स्वस्थ संवादको संस्कृति विकास गर्न, पढाइलाई निरन्तरता दिन तथा ज्ञानसँगै मानवीय मूल्यहरूको विकास गर्न आग्रह गरे।

कार्यक्रमका अध्यक्ष श्यामसुन्दर श्रेष्ठले सूचना तथा सञ्चार प्रविधि (ICT) प्रयोगशाला स्थापना गर्न सहयोग गर्ने सबै साझेदार संस्था तथा गाउँपालिकाप्रति आभार व्यक्त गरे। उनले विद्यालयमा सञ्चालन भइरहेको “क्लब १००” अभियानअन्तर्गत अभिभावकहरूको मासिक योगदानबाट सबै विद्यार्थीलाई दुर्घटना बीमामा आबद्ध गरिएको जानकारी दिए। यस योजनाअन्तर्गत प्रत्येक विद्यार्थीलाई रु. २ लाखसम्मको दुर्घटना बीमा, रु. ५० हजारसम्मको अस्पताल उपचार खर्च तथा मृत्युको अवस्थामा रु. १ लाख राहत उपलब्ध हुने व्यवस्था गरिएको छ। आगामी दिनमा यही योजनामा अभिभावकहरूलाई समेत समेट्ने तयारी भइरहेको उनले जानकारी दिए।

ग्रामीण विद्यालयमा आधुनिक सूचना तथा सञ्चार प्रविधिमा आधारित सिकाइ वातावरण निर्माण गर्ने यस पहलले बौदीकालीका विद्यार्थीहरूलाई डिजिटल युगसँग जोड्दै गुणस्तरीय शिक्षामा पहुँच विस्तार गर्ने विश्वास सहभागीहरूले व्यक्त गरेका छन्। साझेदारी, स्थानीय प्रतिबद्धता र अन्तर्राष्ट्रिय मित्रताको उदाहरण बनेको यो सूचना तथा सञ्चार प्रविधि (ICT) प्रयोगशाला आगामी पुस्ताका लागि ज्ञान, सीप र अवसरको नयाँ ढोका खोल्ने अपेक्षा गरिएको छ।