पोखराका ठूला पूर्वाधार आयोजना भदौभित्रै टेण्डर प्रक्रियामा जाने, विकास र भूमि व्यवस्थापनका कार्य तिब्र

-


     मर्दी न्युज    
     श्रावण ३१ गते २०८३ मा प्रकाशित


पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगरभित्र सञ्चालित तथा प्रस्तावित ठूला विकास आयोजनाहरूलाई तीव्रता दिने घोषणा गरेका छन् । 

विकास साझेदारहरूको सहयोगमा शुरु भएका महत्त्वपूर्ण आयोजनाहरू आगामी भदौ पहिलो सातासम्म टेण्डर प्रक्रियामा लैजाने तयारी भइरहेको उनले जानकारी दिए । प्रमुख आचार्यकाअनुसार एसियाली विकास बैंक (एडीबी), कोइका र विश्व बैंकको सहयोगमा सञ्चालित विभिन्न आयोजनाहरू हाल कार्यान्वयनको विभिन्न चरणमा रहेका छन् । एडीबीका आयोजनाका लागि आलु मैला चोक र कोइकाका लागि शिवालय चोकमा छुट्टाछुट्टै परियोजना कार्यालयहरू सञ्चालनमा आइसकेका छन् । विश्व बैंक र एडीबीका अन्य आयोजनाहरूको नेतृत्व महानगरको सहरी विकास तथा पूर्वाधार महाशाखाले गरिरहेको छ । 

महानगरले नगर विकास कोष (टिडीएफ) को साझेदारीमा पोखरा सभागृहको मर्मत सम्भार (रिनोभेसन) गर्ने प्रक्रियालाई अन्तिम चरणमा पुर्‍याएको छ । यस्तै, पोखराको मुख्य चुनौतीका रूपमा रहेको फोहोर मैला प्रशोधन केन्द्रको निर्माण प्रक्रिया प्राविधिक तयारी र प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) को चरणमा पुगेको उनले बताए । यसको निर्माणको जिम्मेवारी पाएको टेरासोल कम्पनीले छिट्टै सिभिल निर्माणका काम शुरु गर्ने जानकारी दिएको छ ।

पोखरा बसपार्कको स्तरोन्नतिका लागि एडीबीका परामर्शदाताहरूले पृथ्वी चोक, विन्ध्यवासिनी र लामेआहालस्थित बसपार्कहरूको स्थलगत सर्वेक्षण गरिरहेका छन् । बसपार्क क्षेत्रलाई व्यवस्थित बनाउन त्यहाँ बसोबास गरिरहेका सुकुम्वासीहरूको अन्तिम नामावली प्रकाशन गरी सात दिने दाबी विरोधको सूचना जारी गरिएको छ । उनीहरूलाई उचित व्यवस्थापन गरेर मात्र बसपार्कको निर्माण कार्य अघि बढाइने मेयर आचार्यले स्पष्ट पारे । साथै, पोखराको यातायातलाई स्मार्ट बनाउन ‘ई–मोबिलिटी’ परियोजना अन्तर्गत यातायात व्यवसायीहरूसँगको सहकार्यमा काम भइरहेको छ । 

फिर्के खोलामा भएको अतिक्रमण हटाउन महानगरले भदौ १५ गतेसम्मको अन्तिम समयसीमा तोकेको छ । तोकिएको समयभित्र संरचना नहटाए महानगर आफैँले हटाउने र त्यसको खर्च सम्बन्धित पक्षबाटै असुल गरिने जनाइएको छ । असोज १ गतेदेखि फिर्के कोरिडोरको डिपिआर प्रक्रिया अघि बढ्नेछ ।

यसैगरी, महानगरले असोज महिनालाई ‘सार्वजनिक जग्गा संरक्षण अभियान’का रूपमा मनाउने योजना बनाएको छ । सबै वडामा रहेका सार्वजनिक जग्गाको लगत संकलन भइसकेको र अतिक्रमण हटाउन वडा कार्यालयहरूमार्फत विशेष अभियान सञ्चालन गरिने मेयर आचार्यले बताए।

भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि जिल्ला प्रशासन कार्यालय र भूमि आयोगसँगको समन्वयमा लालपुर्जा वितरणको प्रक्रिया शुरु गरिएको छ । महानगरभित्रका २० हजार १०६ जनालाई यसै आर्थिक वर्षभित्र लालपुर्जा वितरण गर्ने लक्ष्यका साथ प्रमाणीकरणको कार्य भइरहेको छ । 

मेयर आचार्यले भने,  ‘पोखरामा विकास साझेदारहरूको सहयोगमा ठूला परियोजनाहरू अघि बढिरहेका छन् । अधिकांश परियोजना टेन्डर प्रक्रियामा छन् र भदौको पहिलो सातासम्म बाँकी ठूला परियोजनाको टेण्डर प्रक्रिया पनि अघि बढाइनेछ । एडीबी, कोइका र विश्व बैंकका परियोजनाहरू सम्बन्धित कार्यालय तथा महानगरको सहरी विकास तथा पूर्वाधार महाशाखामार्फत अघि बढिरहेका छन् ।

पोखरा सभागृहको पुनर्निर्माण सम्झौताको चरणमा पुगेको छ भने फोहोर मैला प्रशोधन केन्द्रको आईईई प्रक्रिया पूरा हुने क्रममा छ । पोखरा बसपार्कका सुकुम्वासीहरूको अन्तिम नामावली तयार भइसकेको छ । कानुनी प्रक्रिया पूरा गरी उनीहरूको उचित व्यवस्थापनपछि बसपार्क खाली गरिनेछ । त्यसपछि एडीबीको सहयोगमा पोखराका तीनवटै बसपार्क–विन्द्यवासिनी, पृथ्वी चोक र लामेआहाल–को सर्वेक्षण तथा पुनरावलोकन गरी निर्माण प्रक्रिया अघि बढाइनेछ । ई–मोबिलिटी र स्मार्ट यातायात प्रणालीको काम पनि कार्यान्वयनको चरणमा छ ।

फिर्के खोलाको हकमा भदौ १५ सम्म सम्बन्धित व्यक्तिहरूलाई संरचना हटाउन समय दिइएको छ । त्यसपछि असोज मसान्तसम्म स्थानीय सरोकारवालासँग छलफल गरी आवश्यक मापदण्ड र जग्गा व्यवस्थापन टुंग्याइनेछ । असोज १ गतेदेखि फिर्के करिडोरको डीपीआर प्रक्रिया अघि बढाइनेछ । खोलाभित्रका अधिकांश संरचना हटिसकेका छन् भने बाँकी संरचनाका आधारभाग पनि हटाइनेछ । सार्वजनिक जमिन संरक्षणका लागि असोज महिनाभर अभियान सञ्चालन गरिनेछ । महानगरसँग अभिलेखमा रहेका सार्वजनिक जग्गा पहिचान गरी अतिक्रमण हटाउने काम वडा कार्यालयमार्फत अघि बढाइनेछ ।

सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई कानूनबमोजिम व्यवस्थापन गरेर मात्र हटाइनेछ । तीनै तहका सरकारको समन्वयमा यो काम अघि बढाइनेछ । सीडीओको संयोजकत्वमा समिति गठन भइसकेको छ र प्रमाणीकरण तथा लालपुर्जा वितरणको प्रक्रिया शुरु भएको छ । पहिलो चरणमा वडा नम्बर ९ को बसपार्क र फिर्के आसपासबाट प्रक्रिया अघि बढाइनेछ । पोखरामा वितरण गरिएका २० हजार १०६ निस्सालाई यही आर्थिक वर्षभित्र लालपुर्जा वितरण गर्ने लक्ष्यसहित काम भइरहेको छ । पोखराका ठूला परियोजनालाई अब निर्माण तथा सम्पन्नताको चरणमा पुर्‍याउने गरी काम तिब्र बनाइएको छ ।’

महानगरले सञ्चालन गरेका यी परियोजनाहरूले पोखराको आधुनिक स्वरूप निर्माणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ । आचार्यले कुनै पनि राजनीतिक प्रभावमा नपरी सरकारी मापदण्ड र कानुनअनुसार नै सबै व्यवस्थापनका कार्यहरू सम्पन्न गरिने प्रतिबद्धता व्यक्त गरे ।