
बागलुङ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा गत आर्थिक वर्षमा २१ नाउर र ११ झारलको सिकार गरिएको छ । विदेशी सिकारीबाट नाउर र झारलको सिकारबापत वन्यजन्तु विभागले ४ करोड १७ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ ।
ढोरपाटनमा वर्षमा दुई चरणमा सिकार याम सञ्चालन हुन्छ । पहिलो सिकार यामबाट ३ करोड ३ लाख ५ हजार रुपैयाँ र दोस्रो सिकार यामबाट १ करोड ४३ लाख ७४ हजार रुपैयाँ राजस्व प्राप्त भएको आरक्षले जनाएको छ । आरक्षका रेञ्जर सागर सुवेदीका अनुसार पहिलो सिकार याम असोजदेखि मंसिरसम्म सञ्चालन गरिएको थियो । त्यस अवधिमा ११ नाउर र ८ झारलको सिकार अनुमति दिइएको थियो । विभिन्न कम्पनीमार्फत आएका विदेशी सिकारीले ८ नाउर र ५ झारलको सिकार गरे । राजस्व बुझाइसके पनि ३ नाउर र ३ झारलको सिकार हुन सकेन ।
दोस्रो सिकार याम फागुनदेखि वैशाखसम्म सञ्चालन गरिएको थियो । त्यस यामका लागि १४ नाउर र १० झारलको कोटा निर्धारण गरिएको थियो । सिकारीहरूले १३ नाउर र ६ झारलको सिकार गरे । प्राविधिक कारणले १ नाउर र ४ झारलको सिकार हुन नसकेको सुवेदीले बताए ।
ढोरपाटन सिकार आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार अनुमति लिएका सबै जनावरको सिकार हुन नसक्नुका विभिन्न कारण थिए । ‘गोलीगोठ्ठामा देखिएको समस्या, सिकारी बिरामी हुनु, मौसममा आएको परिवर्तन र निसाना चुक्नुलगायत कारणले अनुमति लिएका केही नाउर र झारलको सिकार हुन सकेन,’ उनले भने । ढोरपाटन सिकार आरक्ष नेपालमा कानुनी रूपमा सिकार गर्न पाइने एकमात्र क्षेत्र हो । यहाँ विदेशी सिकारीहरू प्रतिस्पर्धामार्फत महँगो शुल्क तिरेर सिकारका लागि आउने गर्छन् ।
नाउर र झारलको सिकारका लागि अमेरिका, स्पेन, नेदरल्यान्ड्स र मेक्सिकोलगायत देशबाट सिकारी आउने गरेका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले नाउर र झारलको संख्या मूल्यांकन गरेर हरेक वर्ष सिकार कोटा निर्धारण गर्ने गर्छ । विभागले प्रत्येक सिकार यामअघि विद्युतीय बोलपत्र आह्वान गरी कोटा र राजस्व दर तय गर्ने गरेको छ ।
सिकार आरक्षलाई सेङ, बार्से, सुर्तिबाङ, फागुने, घुस्तुङ, दोगाडी र सुन्दह गरी ७ ब्लकमा विभाजन गरिएको छ । व्यावसायिक विदेशी सिकार कम्पनीका प्रतिनिधिसहितको टोली हेलिकप्टरमार्फत आरक्ष क्षेत्रमा पुग्ने गर्छ । सिकारका लागि आवश्यक बन्दोबस्त, मार्गनिर्देशन र सुरक्षाको व्यवस्थापन आरक्ष कार्यालयले गर्ने गरेको छ ।
आरक्षले आफ्ना कर्मचारी तथा सिकारीका भरियालाई सम्बन्धित सिकार ब्लकमा खटाउने गरेको छ । सिकारीसहित नेपाली सेना र आरक्षको टोली अधिकतम १५ दिनसम्म जंगलमा रहने गर्छ । लहेलिकप्टर, सहयोगी, बन्दोबस्त र अन्य सबै खर्च सिकारी आफैंले व्यहोर्ने गरेका छन् । आरक्ष कार्यालयका अनुसार एक सिकारीले १५ दिनको सिकार अवधिमा २० लाखदेखि ३५ लाख रुपैयाँसम्म खर्च गर्ने गरेको छ ।
नाउर र झारलको मूल्य, ब्लक रिजर्भ, लाइसेन्स, हेलिकप्टर तथा अन्य व्यवस्थापन खर्च जोड्दा एक जना सिकारीको खर्च अझ बढ्ने गरेको छ । आरक्ष कार्यालयका अनुसार हालसम्म नाउर र झारलको सिकारका लागि कुनै नेपाली सिकारीले प्रतिस्पर्धा गरेका छैनन् । विसं २०३९ मा स्थापना भएको ढोरपाटन सिकार आरक्ष बागलुङ, रुकुमपूर्व र म्याग्दी जिल्लामा फैलिएको छ । आरक्षको क्षेत्रफल १ हजार ३२५ वर्ग किलोमिटर रहेको छ । रासस

