
नागढुंगा-सिस्नेखोला सुरुङमार्गबाट अब कार, जिप र भ्यानजस्ता साना चारपाङ्ग्रे सवारीसाधन सञ्चालन गर्न पाइने भएको छ। सुरुङमार्ग परीक्षणकै चरणमा रहेकाले हाल सीमित समय र एकतर्फी यातायात व्यवस्थासहित सर्वसाधारणका लागि खुला गरिएको हो।
सडक विभागका सूचना अधिकारी तथा सहायक प्रवक्ता ई. शुभाञ्जन दाहालका अनुसार यसअघि आपत्कालीन प्रयोजनका सवारीसाधनमार्फत परीक्षण हुँदै आएको सुरुङमार्गमा सोमबारदेखि साना चारपाङ्ग्रे सवारीलाई प्रवेश अनुमति दिइएको हो।
हाल बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सुरुङमार्गबाट एकतर्फी रूपमा यातायात सञ्चालन हुनेछ। परीक्षणका क्रममा देखिने अवस्था र प्राविधिक पक्षको मूल्यांकनपछि छिट्टै दुईतर्फी यातायात सञ्चालनमा ल्याउने तयारी रहेको विभागले जनाएको छ।
हाल सुरुङमार्गमा दुईपाङ्ग्रे सवारीसाधन तथा अत्यन्त प्रज्वलनशील पदार्थ बोकेका सवारीलाई प्रवेश दिइने छैन। ठूला सवारीसाधनलाई भने परीक्षणको चरण पूरा भएपछि मात्रै सुरुङमार्ग प्रयोग गर्न दिने तयारी गरिएको छ।
पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले गत ११ साउनमा नागढुंगा सुरुङमार्गको उद्घाटन गरेका थिए। उद्घाटनपछि सुरुङमार्गमा आपत्कालीन सेवाका सवारीसाधनमार्फत सञ्चालन परीक्षण हुँदै आएको थियो।
सुरुङमार्गको प्राविधिक परीक्षण तथा सञ्चालन व्यवस्थापनलाई क्रमशः विस्तार गर्दै नियमित यातायात सञ्चालनतर्फ लैजाने तयारीअनुसार साना सवारीलाई सीमित समयका लागि प्रवेश खुला गरिएको विभागले जनाएको छ।

