पोखरा-दुबई उडान प्रभावकारी बनाउन पहल

-


     मर्दी न्युज    
     भाद्र १८ गते २०८३ मा प्रकाशित


गण्डकी । आगामी असोजदेखि सुरु हुने पोखरा-दुबई सिधा हवाई उडानलाई प्रभावकारी तथा दिगो बनाउन पोखरा महानगरपालिका र फ्लाई दुबईबीच सहकार्य प्रक्रिया अघि बढेको छ । पोखरा दुबई उडान सेवाको प्रवर्द्धन र प्रचारप्रसारका लागि दुवै संस्थाका प्रतिनिधिबीच समझदारी पत्रमा आज हस्ताक्षर भएको महानगर प्रमुख धनराज आचार्यले जानकारी दिए ।

पोखरा महानगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत मनोहर कडरिया र फ्लाई दुबईको नेपालस्थित जनरल सेल्स एजेन्टका तर्फबाट युनिभर्सल टुर्स एन्ड ट्राभल्स प्रालिका अध्यक्ष परासर प्रसाईँले उक्त समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । महानगरपालिका र फ्लाई दुबईले प्रारम्भिक प्रवर्द्धन अभियानपछि पर्यटन प्रवर्द्धन, गन्तव्य स्थलको बजारीकरण, अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारलगायत पारस्परिक हितका क्षेत्रमा सहकार्यलाई निरन्तरता दिने विषयमा समझदारी भएको उनले जानकारी दिए ।

यस उडान पोखराको अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारसँगै पर्यटन, व्यापार तथा आर्थिक गतिविधिमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ । समझदारीअनुसार पोखरा महानगरपालिकाले उपलब्ध सार्वजनिक तथा प्रचारप्रसारका स्थानहरूमा १५ दिनसम्म नि:शुल्क प्रचार स्थान उपलब्ध गराउने तथा महानगरपालिकाका आधिकारिक डिजिटल प्लेटफर्म, सामाजिक सञ्जाल र सञ्चार माध्यममार्फत पोखरा(दुबई उडानको प्रवर्द्धनमा सहयोग गर्नेछ ।

फ्लाई दुबईले प्रचारप्रसारका सामग्रीको डिजाइन, उत्पादन, छपाइ, ढुवानी, जडान तथा हटाउने जिम्मेवारी लिएको छ । पोखरा–दुबई नियमित हवाई उडानले पोखरालाई विश्वका विभिन्न गन्तव्यसँग थप सहज रूपमा जोड्ने महानगर प्रमुख आचार्यको भनाइ छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई प्रभावकारी रूपमा सञ्चालन गर्दै अन्तर्राष्ट्रिय गन्तव्यहरूसँग जोड्न महानगरले पहल सुरु गरिएको उनले बताए ।

पोखरा–दुबई सिधा हवाई उडानलाई दिगो बनाउन पोखराका पर्यटन व्यवसायीले पनि चासो र अग्रसरता देखाएका छन् । हालै नेपालका लागि संयुक्त अरब इमिरेटन्स (युएई) का राजदूत अब्दुल्लाह सइद मुबारक जरवान अल शाम्सीसँग भेट गरी व्यवसायीहरूले पोखरा–दुबई नियमित उडानबारे छलफल गरेका थिए । पोखरा–दुबई उडानको निरन्तरता र दिगोपनाका विषयमा छलफल गरिएको थियो ।

केही समयअघि फ्लाई दुबईका नेपाल प्रतिनिधि र पोखराका पर्यटन व्यवसायीबीच पनि पोखरामा सोही विषयमा छलफल भएको थियो । सो अवसरमा पोखरा-दुबई उडानलाई स्थायित्व दिन स्थानीयवासी र सरोकार भएका सबै पक्षको सहयोग महत्त्वपूर्ण हुनेमा जोड दिइएको थियो । यस उडानबाट गण्डकी प्रदेश र आसपासका नागरिकलाई सोझै लण्डन, न्युयोर्क, टोकियोजस्ता विश्वाका २५० भन्दा बढी गन्तव्यमा पुग्न सहज हुने जनाइएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले गत जेठमा फ्लाई दुबईलाई दुबई–पोखरा–दुबई दैनिक उडानका लागि अनुमति दिएको थियो । यसबीचमा फ्लाई दुबईले उडान तालिम सार्वजनिक गरिसकेको छ । सुरुमा एक महिनाका लागि मात्र दिनको एक पटक उडान गर्ने घोषणा गरेको फ्लाई दुबईले सन् २०२७ को मार्च २६ सम्मकै बुकिङ खुला गरिएको जनाएको छ ।

सरकारले चालु आवको नीति तथा कार्यक्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवा प्रदायकलाई आकर्षित गर्न कूटनीतिक पहल गर्ने जनाएको केही समयमै फ्लाई दुबईले उडान अनुमति पाएको थियो । विश्वव्यापी हवाई ‘ट्रान्जिट हब’  दुबईसम्मको सिधा उडानले पोखरालाई अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोड्नेछ । पोखरा–दुबई उडान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुन लागेको दोस्रो व्यावसायिक उडान हो ।

यसअघि चीन, भारत र भुटानका विभिन्न गन्तव्यमा चार्टर उडान भने हुँदै आएको थियो । पोखरा–दुबई उडानबाट पर्यटकीय राजधानीसमेत रहेको पोखरासहित यहाँका पर्यटकीय क्षेत्रको घुमफिरका लागि विदेशी पर्यटकहरू सिधै पोखरा आउन सक्नेछन् । वैदेशिक रोजगारी, अध्ययन, घुमफिर आदिका लागि अरब मुलुकसहित अन्य देशमा जाने यात्रु तथा सर्वसाधारणका लागि पनि यो उडान सेवा लाभदायी हुने देखिएको छ ।