पोखरामा शैक्षिक प्रदर्शनी शुरु

-


     मर्दी न्युज    
     मंसिर २४ गते २०७६ मा प्रकाशित


NPABSON

पोखरा , २४ मङ्सिर । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल, कास्कीले आयोजना गरेको तेस्रो बृहत् शैक्षिक प्रदर्शनी तथा १३ औं लोकनृत्य प्रतियोगिताको आज मंगलवारदेखि शुरु भएको छ । ‘एनप्याब्सान कास्कीको ध्येय, विद्यार्थीको मौलिक सिर्जनालाई श्रेय’ भन्ने मूल नाराका आयोजना गरिएको शैक्षिक प्रदर्शनीको गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले उद्घाटन गरेको हो ।

प्रदर्शनीको उद्घाटन गर्दै प्रदेश प्रमुख शेरचनले नेपालको शैक्षिक गुणस्तर बढाउनका लागि निजि विद्यालयको योगदान अुतलनीय रहेको बताए ।

‘सरकार र निजी विद्यालयहरुबीचको समस्याहरु समाधान गर्नका लागि हातेमाले गरेर अगाडि बढ्नु पर्दछ ।’ शेरचनले भन्नुभयो– ‘निजि विद्यालयका समस्यालाई संवोधन गर्नका लागि संवन्धित निकायमा पु¥याउने छु ।’ उनले निजि विद्यालयका समस्यालाई सरकारले संवोधन गर्नुपर्ने उल्लेख गरे ।

अहिलेको युग विज्ञानको युग भएकोले विद्यार्थीले सृजना गरेका सामग्रीले पनि नयाँ नयाँ आविष्कार गर्न सक्छन् भन्ने प्रमाणित प्रदर्शनीले गरेको उनको भनाई थियो ।

नेशनल प्याव्सानका केन्द्रीय अध्यक्ष ऋतुराज सापकोटाले विद्यार्थीहरु वर्तमानका साझेदार भविष्यका कर्णधार भन्ने गरेकोमा एन प्याव्सान कास्कीले वर्तमानको साझेदार बनाउने काम गरेको बताए ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई पोखराका प्रमुख नारायण सुवेदी, नेशनल प्याव्सान गण्डकी प्रदेश प्रमुख यामबहादुर खड्का, हिसान कास्कीका अध्यक्ष डा.रामजी शर्मा, युनिप्स नेपालका केन्द्रीय अध्यक्ष सन्तबहादुर गुरुङ, पुस्तक व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष ऋषीराम भण्डारी, प्याव्सीयूका केन्द्रीय उपाध्यक्ष शिवलाल उपाध्याय, प्रथम उपाध्यक्ष शिवदत्त तिवारी, सचिव मनकाजी गुरुङले बोलेका थिए । एन प्याव्सान कास्कीका अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

प्रदर्शनीमा नेशनल प्याव्सानमा आवद्ध ४६ वटै विद्यालयका विद्यार्थीहरुले विषयगत विधाका सृजनाहरु लामो समय लगाएर तयार पारी प्रदर्शनीमा राखिएको छ । शैक्षिक प्रदर्शनीमा पाठ्यक्रममा आधारित विविध विषयका शैक्षिक सामग्रीहरु शिक्षकहरूको प्रत्यक्ष संलग्नतामा विद्यार्थीहरूले निर्माण गरेका हुन् । शैक्षिक प्रदर्शनीमा पूर्व प्राथमिक तहदेखि गणित, विज्ञान तथा प्रविधि, सामाजिक अध्ययन, भाषा अंग्रेजी र नेपालीका विषयगत विधाहरू रहेका छन् ।

शिक्षण सिकाइमा नयाँ प्रविधिसँग प्रत्यक्ष साक्षात्कार गराई बालबालिकामा अन्तर्निहित सिर्जनशीलता जागृत गराउँदै भविष्यमा राष्ट्रका लागि आवश्यक जनशक्ति उत्पादन गराउन एन प्याव्सान कास्कीले एक वर्ष खेलकुद महोत्सव र एक वर्ष शैक्षिक प्रदर्शनी तथा लोक नृत्य प्रतियोगिता गर्दै आएको छ ।
मङ्सिर २७ गते लोकनृत्य प्रतियोगिता गरिने छ । प्रदर्शनी मंसिर २४ देखि २७ गतेसम्म पोखरा प्रदर्शनीकेन्द्र नयाँबजारमा चल्ने छ ।