तरकारी खेतीमा अब्बल कुशबहादुर घले

-


     मर्दी न्युज    
     माघ १८ गते २०७६ मा प्रकाशित


Mardi News

पदम घले, खड्ग गुरुङ

पोखरा । आजभोलि धेरै युवाको एउटै गुनासो सुनिन्छ, ‘देशमा भनेजस्तो काम नै पाइएन ।’ गतिलो रोजगारी भेटिएन भन्दै विदेशिने यस्ता युवाका लागि गतिलो प्रेरणा हुन्, कुशबहादुर घले ।

५८ वर्षीय घलेले पोखरामै बसेर तरकारी खेतीमार्फत गत वर्ष मात्रै ३० लाख रुपैयाँ चोखो मुनाफा कमाए । विदेशमा गएर श्रम बेच्दा पनि आत्मसन्तुष्टी नभएपछि आफ्नो श्रम र लगानी घरमै लगाउने र आम्दानी लिने अभिलाषाका साथ उनी कृषिमा होमिए । विदेशी भूमिमा आफ्नो श्रम बेच्नुभन्दा स्वदेशमै गएर केही गर्ने उद्देश्य लिएर फर्केका घले पछिल्लो समय नगदेबाली सागसब्जीसँगै कुखुरा तथा हाँस राखेर खेती गर्न थालेका छन् ।

आफूसँग कर्म गर्ने जाँगर र परिश्रमी स्वभाव भए मानिसलाई सफल हुन बेर लाग्दैन । हो, त्यस्तै कर्मवीर मध्येका एक हुन् घले । कुनै कुनै मानिसको स्वभाव पनि साह्रै रहर लाग्दो र जागरिलो हुन्छ । थकान भन्ने हुँदैन कसै–कसैको जीवनमा ।

सायद यही परिश्रमी स्वभावले कुशबहादुर घलेलाई थकान भन्ने कहिले भएन । विक्रम सम्वत् २०१८ सालामा स्याङ्जाको तत्कालिन चापाकोट रत्नपुर गाविसमा जन्मिएका घले भूतपूर्व भारतीय सैनिक हवल्दार (प्रीमिच) हुन् । एकाइस वर्ष सेवानिवृत्त पेन्सनर हुन् उनी । समयको चक्रले पनि उनलाई धेरै ठाउँ घुमायो । मनग्गे धन कमाउने उद्देश्ले ‘रिटायर्ड’ भएपछि मलेसिया, सिङगापुर, इराक र अफ्गानिस्तानसम्म पनि पुगे । लामो समय विदेशमै बिताए पनि ।

पानी जहाजमा पनि काम गरेको अनुवभव छ उनीसँग । त्यसपछि उनी स्वदेशमै केही गर्नुपर्छ भन्ने भावनाले नेपाल फक्र्यो । उनले आफ्नै गाउँमै (रत्नपुर चापाकोट स्याङ््जामा) कक्षा ५ सम्म रत्नपुर एकेडेमी आर्ट एन्ड साइन्स स्कुल खोले । सो स्कुल नौ वर्षसम्म सञ्चालनमा रह्यो । तर अफसोच देशमा बढ्दो तत्कालिन माओवादी जनयुद्धले गर्दा छोड्नु प¥यो । गाउँकै चिनेजानेका माओवादीमा लागेका साथीभाइहरुले नै आफ्नो स्कुल आँखै अगाडी दनदनी आगो लगाएको घट्ना तजै छ उनीसँग । त्यसपछि आफ्नो मन थाम्न नसकी गाउँ छाडी काठमाडौं प्रवेश गरे ।

गाउँ छाडेका घलेले इमाडोल, ललितपुरस्थित नयाँवस्तीमा एउटा घर किने । परिश्रमी स्वभावका उनी त्यसै बस्न चाहेनन् । २०६८ सालमा ८ हजार कुखुरा राखी कुखुरापालनतर्फ अग्रसर भए । १६ लाख लगानीमा करीब दुईवर्ष कुखुरा फर्म सञ्चालन गरे । तर विडम्बना बर्डफ्लू रोगले कुखुरालाई छाडेन ।

व्यवसाय गर्दा सुरुवात सधैं राम्रो हुन्छ भन्ने छैन । ‘तितो मिठो अनुभव हुँदो रै’छ’ उनले भने– ‘सारो गाह्रो पनि आइपर्दो रै’छ, कहिले हातैभरि पैसा हुन्छ, कहिले उधारो गएर कुखुरालाई दाना किन्ने पैसा पनि हुँदैन ।’ कुखुरालाई दाना खुवाउन रकम अभावले गर्दा आफ्नो घाँटीमा भिरेको सुनको सिक्रीसमेत बेच्नु परेको घटना ताजै छ उनीसँग । व्यवसाय भनेको कहिले घाटा कहिले नाफा हुन्छ भन्ने बुझाईका कारण उनी अतालिएनन् ।

तर उनलाई भने काठमाडौंमा बस्ने मन भने भएन । २०७० साल माघमा पोखरा फर्के । पोखरा १४ स्थित मझेरीपाटनमा जग्गा किनेर घर बनाए । घर निर्माणकै क्रममा उनलाई त्यसै खाली बस्ने मन भएन । केहि न केहि त गर्नु प¥यो भनी दुईजनाको साझेदारीमा लेखनाथको बुढीबजारमा करीब बाह्र रोपनी जग्गा भाडामा लिए । लेखनाथ एग्रीकल्चर प्रा. लि. संस्था दर्ता गरी ७ सय मीटर लामो टनेल बनाएर ग्रीन हाउस शुरु गरे । ५१ लाखको लागतमा टनेल बनाए । टनेल बनाउनको निम्ति पूर्वी तराईबाट छ–सात ट्रक बाँसनै खरिद गरे । एकजना कृषि प्राविधिकलाई छ महिनासम्म तलब नै दिएर काममा लगाए । इजरायली प्रविधिमा आधारित गोलभेंडा, काक्रो, करेला, सागसब्जी आदि सबै उत्पादन गरे । बिक्री पनि राम्रो भयो र आम्दानी पनि । स्थानीय मानिसहरुको तरकारी गोलभेड, काक्रो किन्नेको लर्को नै लाग्थ्यो ।

पछि उनको च्याउ खेतीतर्फ पनि आकर्षण बढ्यो । घर छेवैमा स्थानीयको पन्ध्र रोपनी जग्गा खाली देखेका उनले २०७३ सालमा १२ रोपनी जग्गा भाडामा लिई च्याउ खेती पनि सुरु गर्न थाले । दुईतर्फको व्यवसायमा ध्यान दिन कठिन भएकोले लेखनाथ बुढीबजारको साझेदारीमा सञ्चालित फर्म आपसी समझादारीमा साझेदारलाई छोडी २०७४ सालबाट एकल व्यवसाय ‘मीना कृषि फर्म’मा तन मनका साथ लागे । उनलाई साथ दिए आफ्नै जीवनसंगिनी मीना घलेले ।

२०७३ सालमा ३० लाखको च्याउ बेच्न सफल घले दम्पतीले मीना कृषि फर्ममा च्याउखेतीसँगै मौसमअनुसारको तरकारी खेती, सागसब्जी, गोलभेंडा, धनिया, उखू उत्पादन हुन्छ भने लोकल कुखुरा, गिरीराज र हाँसहरु पनि बिक्री गर्छन् । आफ्नो व्यवसायबाट सन्तुष्ट घले परिवारले दुईजनालाई रोजगार दिएको छ । प्रतिव्यक्ति मासिक १६ हजार तलब दिएर दुईजना कामदारलाई राजगारी दिएका घलेका श्रीमान् श्रीमती नै च्याउखेतीको लागि टहरा बनाउँदै गरेको भेटे ।

वार्षिक करोडभन्दा बढीको कारोवार गर्ने घलेले सुरुमा कैलाश विकास बैंकबाट ६ प्रतिशत व्याजमा चालिस लाख रुपैयाँ कृषि ऋण लिएर आप्mनो व्यवसाय सुरु गरेका हुन् । निजी गाडी घरमा राख्न सफल घले दम्पतीको अनुभवमा जहाँ गएपनि मेहनत र श्रम नगरी फलको आशा गर्न नसकिने उनीहरुको बुझाई छ । विदेश जाँदा गर्ने लगानी स्वदेशमै गरी परिश्रम गरे विदेश जानु नपर्ने उनीहरुको भनाई छ ।
अग्यार्निक साग सब्जि समेत उब्जाइरहेका घले दम्पतीले राम्रो आम्दानी गर्न सकेपछि विदेश जानेहरुलाई विदेश गएर गर्ने श्रम यही नेपालमै गर्न सके राम्रो आम्दानी हुने सुझाउछन् ।