
पोखरा, २६ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा लगाएको विरोधमा आइतबार पनि प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारको इसारामा कांग्रेस नेता गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा लगाएकोभन्दै कांग्रेसले तेस्रो दिन संसद अवरुद्ध गरेको हो ।
संसदमा अवरोध गरेपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ । आइतबार दिउँसो पौने एक घन्टापछि सुरु भएको बैठकको सुरुवातमै कांग्रेसका सांसदहरुले आ–आफ्नो स्थानबाट उठेर अवरोध गरेका थिए । सभामुख अग्निप्रसाद सापकोटाले पटक पटक बैठक सूचारु गर्नमा सहयोग र्पुयाउन अनुरोध गर्दा पनि नेपाली कांग्रेसका सांसदले आ–आफ्नो स्थानमा यथावत रहि अवरोध गरेका थिए ।
सभामुखले अब मंगलबार १ बजे बस्ने गरी बैठक स्थगित भएको जानकारी गराएका छन् ।