
पोखरा, २० फागुन । यही फागुन २२ गतेदेखि पोखरामा संचालन हुने १८ औं संस्करणको आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिता २०७६ को सम्पूर्ण तयारी पूरा भएको छ । प्रतियोगितामा भारतको गान्टोक सिटी फुटबल क्लबसहित १० टिमको सहभागितामा सञ्चालन हुने खेलको तयारी पूरा भएको आज मंगलवार पत्रकार सम्मेलनमा जानकारी गराएको हो ।
एक विदेशी टिमसहित १० टिमको सहभागिता हुने आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगितामा भारतको गान्टोक सिटी फुटबल क्लब रहेको छ ।
प्रतियोगितामा डिफेण्डिङ च्याम्पियन रुसलान थ्रिस्टार क्लब, गत वर्षको उपविजेता त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको एपिएफ, ब्रिगेट व्बाइज क्लब, संकटा क्लब, नेपाल आयल निगम मनाङ मर्याङदी क्लब, झापा ११ फुटबल क्लब र आयोजक सहारा क्लब सहभागि हुने आयोजकले बताए ।
फागुन २२ गते हुने खेलमा आयोजक सहारा क्लब, पोखरा र ब्रिगेट व्वाइजबीच खेल हुनेछ । त्यसैगरी आजै पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको खेल तालिकाअनुसार २३ गते सशस्त्र प्रहरी बलको एपिएफ र झापा ११ फुटबल क्लबबीच हुनेछ । यसैगरी २४ गतेको खेलमा नेपाल पुलिस क्लब र २२ गतेको लिग विजेताबीच हुनेछ भने २५ गतेको खेल पनि मनाङ मस्र्याङ्दी क्लब र २३ गतेको लिग विजेताबीच हुनेछ । यसैगरी २६ गते गान्टोक सिटी क्लब, इण्डिया र थ्रिस्टार क्लबबीच हुनेछ भने २७ गते संकटा क्लब र त्रिभुवन आर्मी क्लबबीच खेल हुने आयोजकले बताएको छ ।

क्लबका अध्यक्ष केशवबहादुर थापाका अनुसार यस पटक पुरस्कारको धनराशी बृद्धि गरि विजेता टिमलाई रु. १० लाख १ हजार र उपविजेता हुनेलाई रु. ५ लाख १ हजार रुपैयाँ प्रदान गरिने भएको छ । प्रतियोगिताको अनुमानित आम्दानी १ करोड १८ लाख १ हजार रुपैयाँ र अनुमानित खर्च ९९ लाख ३८ हजार ५ सय रुपैयाँ क्लबले प्रक्षेपण गरेकोछ । प्रतियोगितामा बचत हुन आएको रकम क्लबबाट संचालित सहारा फुटबल एकेडेमीमा खर्च गरिने अध्यक्ष थापाले बताएका छन् । हाल तेश्रो व्याचको एकेडेमीमा १५ जिल्लाका २४ जना बालकहरु आश्रित छन् ।
‘आत्मा साक्षी राखि मन, वचन र कर्मले समाजिक सेवा गरौं’ भन्ने उद्देश्यका साथ २०५५ सालमा पोखराको पुरानो बसपार्कमा स्थापति सहारा क्लब पोखराले आयोजना गर्ने आहा ! रारा ! गोल्ड कप पोखराको पर्यावाचीको रुपमा लिने गरिएको छ । यस वर्ष समेत ‘सर्वाेत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी २०७६’ बाट एकजना राष्ट्रिय खेलाडीलाई सम्मान गरिने महासचिव रामजीप्रसाद अधिकारीले बताएका छन । सम्मानित खेलाडीलाई नगद रु. ३५ हजार, प्रमाण–पत्र र दोसल्ला प्रदान गरिने छ भने उक्त नगद पुरस्कारको प्रायोजन सहारा क्लब पोखराका मानार्थ सदस्य खेमबहादुर गुरुङले गरेका छन् ।
‘खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं’ भन्ने उद्देश्यका साथ आयोजना हुने प्रतियोगितालाई हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा हुने छ ।