लकडाउनमा भित्रिदै आगन्तुक चरा

-


     मर्दी न्युज    
     २६ चैत्र २०७६ मा प्रकाशित


तस्विरः चुङ्बा शेर्पा

अमृतकुमार पौडेल


पोखरा । कोभिड–१९ को विश्वव्यापी महामारीले विश्व नै लगभग ठप्प भएको यस विषम घडीमा नेपाल पनि आज लकडाउनको १६ औं दिन पुगेको छ । कलकारखाना, यातायात तथा अन्य काम ठप्प भएर मानव आफ्नै घरभित्र बन्द रहदैँ गर्दा आगन्तुक चराहरु भने नेपाल भित्रिन थालेका छन् । प्रदुषणमा आएको कमीसँगैे वातावरण पनि सफा र आगन्तुक चराहरुका लागि अनुकुल हुदैँ गएको अनुभव गरिएको छ ।

तस्विरः रामकृष्ण महतो

भीडभाड, कोलाहल तथा ध्वनी प्रदुषणले वास्ता नगरिएका पन्छीका चिरबिर र गीतहरु लकडाउनका दिनहरुमा धेरै मात्रामा सुनिन थालेका छन् । ‘बसन्तको आवगमनसँगै कोइली प्रजातिका चराहरु भारतीय उपमहाद्विपको तल्लो तटिय क्षेत्रबाट गर्मी छल्न र बच्चा कोरल्न उपयुक्त स्थान खोज्दै नेपाल भित्रिएका छन् । मानव चहलपहल घटेकाले र आगन्तुक चराहरुको आगमन सुरु भएकाले संख्या बढी देखिएको तथा नौला आवाजहरु सुनिएको हो ।’ – पोखरा पंछी समाजका अध्यक्ष मनशान्त घिमिरेले बताउनुभयो ।

श्रीलङ्काबाट औसत २० सेन्टिमिटरको सुन्दर स्वर्गचरीसँगै अफ्रिकाबाट आउने लगभग ३३ सेन्टिमिटरको जुरे कोइलीजस्ता करिब ६२ ग्रिष्मकालिन आगन्तुक प्रजातिहरु यसबेला उपयुक्त स्थान खोजी गुँड बनाउन व्यस्त छन् । यी प्रजाती बच्चा हुर्काई पुनः तीन महिनाको अन्तरालभित्र नेपालबाट फर्किसक्छन् । नेपालमा पाइने १९ प्रजातिका कोइलीमध्ये १५ प्रजातिहरु अरुको गुँडमा फुल पार्दछन् भने ४ प्रजातिहरु आफै गुँड बनाउने गर्दछन् ।

तस्विरः अमृत पौडेल