काठमाडौं, ३० चैत । महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण संसारभरि हालसम्म १ लाख ८ हजार बढीको मृत्यु भइसकेको छ भने यो संख्या अझै बढ्ने निश्चित छ । व्यापार व्यवसाय ठप्प छन्, अर्थतन्त्र डामाडोल छ, करोडौं मानिसहरु बेरोजगार भएका छन् ।
एकातिर भाइरस संक्रमण सर्ने हो की भन्ने चिन्ता छ भने अर्कोतर्फ अब खान नपाएर जीवन जाने हो की भन्ने चिन्ता विश्वभरी नै थपिएको छ । विश्वभरी रोजगारीका अवसर खोसिन थालेका छन् । आर्थिक संकटमा विश्व फसिसकेका छन् । यस्तो अवस्थामा विश्वका धेरै मुलुकमा रोजगारी कटौती, तलब कटौतीदेखि सेवा सुविधा पुरै कमि हुन थालेका छन् । कतिपय मुलुकमा खाद्यन्न नै अभाव हुन थालेको छ । यही पीडामा विश्वभरी छरिएर रहेका नेपालीहरु पर्न थालिसकेका छन् ।
दिनप्रति दिन बढ्दो महामारी रहुन्जेलसम्म अष्ट्रेलियामा मात्र करिब २० लाख मानिसहरु बेरोजगार हुन सक्ने अनुमान गरिएको छ । यो महामारीबाट अष्ट्रेलियामा रहेका लाखौं नेपालीहरु पनि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा प्रभावित भएका छन् ।
अष्ट्रेलियामा नेपालीहरु करिब १ लाख ५० हजार रहेको अनुमान गरिएको छ । यसमध्ये ६० हजार जति उच्च शिक्षा अध्ययनको लागि अष्ट्रेलिया पुगेको नेपाली विद्यार्थीहरु रहेका छन् ।
काम गर्दै अध्ययन गर्नुपर्ने नेपाली विद्यार्थीहरु बढी मर्कामा परेको बताइएको छ । लकडाउनका कारण कतिपयको रोजगारीको अवसर गुमेको छ भने अर्कोतिर कलेज बन्द भएपनि घरमै बसी अध्ययन गर्नुपर्ने र कलेजको शुल्क बुझाउनुपर्दा कतिपनि नेपाली विद्यार्थीहरु आर्थिक समस्यामा परेका छन् ।
अष्ट्रेलियामा रहेका ८ जना नेपालीमा कोरोना संक्रमितमध्ये १ जनाको उपचार पछि घर फर्किसकेको छ । अन्य ७ जना आइसोलेसनमा उपचारत रहेको त्यहाँस्थित नेपाली दुतावासले जनाएको छ । अष्ट्रेलियामा हालसम्म ५९ जनाको मृत्यु भइसकेको छ भने ६ हजार ३ सयभन्दा बढी मानिस संक्रमित छन् ।