अमेरिकाले रोक्यो विश्व स्वास्थ्य संगठनलाई दिदैं आएको आर्थिक सहयोग

-


     मर्दी न्युज    
     ३ बैशाख २०७७ मा प्रकाशित


पोखरा, ३ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)लाई दिदैं आएको सहयोग रोक्न निर्देशन दिएको बताएका छन । कोरोना भाइरसको महामारीको बेला डब्लुएचओले चीनको पक्ष लिएको र काम पनि सन्तोषजनक नभएको भन्दै अमेरिकाले उसलाई दिँदै आएको सहयोग रोक्ने निर्णय गरेको हो ।

ट्रम्पले कोरोना महामारी रोकथाम र व्यवस्थापनमा डब्लुएचओ आफ्नो ‘आधारभूत कर्तव्य’ पूरा गर्न चुकेको आरोप लगाएका छन । ट्रम्पले डब्लुएचओलाई चीनमा फैलिएको कोरोना भाइरस संक्रमणको ढाकछोप गरेको र राम्रो प्रबन्ध गर्न नसकेको आरोप लगाएका छन ।

उनले यसका लागि डब्लुएचओलाई जवाफदेही बनाउनुपर्ने बताएका छन ।
डब्लुएचओको काम र कर्तव्यमा प्रश्न उठाइरहेका ट्रम्पलाई देशभित्रै कोरोना संक्रमणको रोकथाममा गम्भीर नरहेको आरोप लाग्दै आएको छ ।

नियमित प्रेस बिफ्रिङमा राष्ट्रपति ट्रम्पले भने, ‘डब्लुएचओको भूमिकाको समीक्षा गरियो, तर प्रभावकारी काम गर्न असफल रह्यो । त्यसैले मैले मेरो प्रशासनलाई डब्लुएचओलाई दिँदै आएको सहयोग रोक्न निर्देशन दिएको छु ।’

अमेरिका कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित देश हो । अमेरिकामा ५ लाख ९२ हजार ७ सय ४३ जनामा संक्रमण पुष्टि भएको छ भने २५ हजार २ सय ३९ जनाको मृत्यु भइसकेको छ ।

यसअघि पनि अमेरिकाले डब्लुएचओको भूमिका सन्तोषजनक नभएको भनेर आलोचना गरेको थियो । त्यसलगत्तै डब्लुएचओले कोरोना भाइरसको महामारीलाई कसैले पनि राजनीतिकरण गर्न नहुने प्रतिक्रिया दिएको थियो ।

अमेरिकाको डब्लुएचओको सबैभन्दा ठूलो आर्थिक दाता हो । गत वर्ष अमेरिकाले डब्लुएचऔलाई ४० करोड अमेरिकी डलर सहायता दिएको थियो । यो रकम डब्लुएचओको कुल बजेटको १५ प्रतिशत हो ।