काठमाडौं । विराटनगरस्थित कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा उपचार गराइरहेका कोरोना संक्रमितमध्ये थप आठ जना निको भएका छन् । उनीहरूलाई बुधबार डिस्चार्ज गरिएको छ ।
उदयपुरको भुल्के क्षेत्रका तीन जना नागरिकसहित भुल्केस्थित मस्जिदमा सङ्क्रमित देखिएका पाँच जना भारतीय नागरिक कोरोना भाईरसमुक्त भएको हो ।
डिस्चार्ज हुनेहरूमा गत वैशाख ५ गते भर्ना गरिएका भारतीय नागरिक मो. सबिर, मो. सलौना, अहमद साइद, सलमान खान र मोरिस खान छन् । यसैगरी उदयपुर भुल्केका इद्रीश मियाँ (५२), गुड्डु आलम (१८) र मुस्ताकी (६६) रहेको अस्पताल व्यवस्थापन संयोजक ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।
कोभिड–१९ उपचार केन्द्रबाट यसअघि १७ जना डिस्चार्ज भइसकेका छन् । बुधबार आठ जनासहित कोरोना परास्त गरी डिस्चार्ज हुनेको सङ्ख्या २५ पुगेको छ ।