संरक्षण पर्खदै ओँत

-


     मर्दी न्युज    
     १४ जेष्ठ २०७७ मा प्रकाशित


सुजिता ढकाल

पोखरा । अङ्ग्रेजीमा अटर भनेर चिनिने ओँतहरु अर्ध–जलीय जीवन बिताउने स्तनधारी जनावर हुन । सिमसार, तालहरु र नदिहरु जस्ता माछा प्रसस्त पाइने क्षेत्रमा पाईने ओंतहरु जलीय पारिस्थितिकीय प्रणालीहरुको महत्त्वपूर्ण जैविक सूचक हुन् । शिकार गर्न माहिर ओँतको सबैभन्दा प्रिय आहारा माछा हो र साथसाथै धेरै यसले भ्यागुता, गँगटाजस्ता उभयचर, क्रसटेशियन र साना स्तनपायी जनावर पनि मौसम अनुसार खाएको पाईन्छ । ओँतको लामो र पातलो शरीर हुनुका साथै छोटा खुट्टा हुने गर्दछन । ओँतको शरीरको बाहिरी भागले भित्री नरम र इन्सुलेटेड रौँलाई सुरक्षित गरी ओँतलाई सुख्खा र न्यानो रहन मद्दत गर्दछ । यसबाहेक जालिदार खुट्टाहरू, पानीमुनि सास फेर्न सक्नु र शिकारकालागी टाढा टाढा सम्म जानु ओँतका बिशेषता हुन ।

विश्वमा पाइने कुल १३ प्रजातिका ओँतहरुमध्ये ३ प्रजाति, युरेसियन ओँत, स्मुथ कोटेड ओँत र ओरिएन्टल स्मल क्लड ओँत नेपालमा पाईन्छन यी प्रजातिहरूमध्ये यूरेशियन ओँतहरु हिमाली खोला, नदी र तालमा पाईन्छन , स्मुथ कोटेड ओँतहरु नेपालका प्रमुख नदीहरु कोशी, नारायणी, कर्णालीमा र महाकालीमा पाइएको छ भने ओरिएन्टल स्मल क्लड ओँत पछिल्लो समयमा नेपालको कुनै ठाउँमा पनि रेकर्ड भएको छैन। युरेशियन ओँत आईयूसीएनको रातो सूचीमा नियर थ्रेटन्ड र साइटिसको एपेन्डिक्स I मास स्मुथ कोटेड ओँत आईयूसीएनको सूचीमा भल्नरेबल र साइटिसको एपेन्डिक्स II मा र ओरिएन्टल स्मल क्लड ओँत आईयूसीएनको सूचीमा लोअर रिस्क र नियर थ्रेटन्ड साथै साइटिसको एपेन्डिक्स II मा समावेश छ ।

ओँतको प्रचुरता, आनीबानी र वासस्थानका वासस्थानको नेपालमा उचित अनुसन्धानमा हुन सकेको छैन र मानव सिर्जित चुनौतिलाइ न्युनीकरण गर्दै तथ्यगत प्रमाणका आधारमा संरक्षणका कार्यक्रम अगाडि बढाउनुपर्ने टड्कारो आवश्यकता छ, ओँत अनुसन्धानकर्ता डा. ज्योति भण्डारीले बताउनुभयो । ओँतहरुलाई प्रदुषण, बिषादी, उद्योगहरूबाट उत्सर्जन हुने रसायन, नदिका बाँधहरु, बालुवा उत्खनन र बासस्थान खण्डिकरणले असर पारेको देखिन्छ । साथै आहाराको कमी र अवैध चोरि शिकारीले यसको सङ्ख्या दिनानुदिन घटिरहेको छ । कडारुपमा कानुनको कार्यान्वयनका साथै सार्वजनिक जनचेतना अविब्रिद्दी कार्यक्रम, ओँतको पर्याप्त शिकार आधार संरक्षण, संरक्षित क्षेत्रहरू बाहिर ओँतको संरक्षण, ओँतको बास्थानको अनुगमन, ठूला विकास परियोजनाहरूको सहि ढंगले वातावरणीय प्रभाव मूल्यांकन र ओँत संरक्षण योजनाजस्ता कार्यक्रमले ओँत संरक्षणमा टेवा पुराउने देखिन्छ ।

ओंतसम्बन्धी चेतना जगाउने हेतुले आज मे २७ तारिखका दिन इन्टर्नेसनल अटर सर्भाइबल फन्डको आह्वानमा संसारभरी नै विश्व ओँत दिवस मनाइन्छ । लकडाउनको यस परिस्थीतीमा यो वर्ष नेपालमा विश्व ओँत दिवस डिजिटल कार्यक्रममार्फत मनाइँदै छ । पहिलो वेविनार कार्यक्रम ग्लोवल युथ बायोडाइभर्सिटी नेटवर्क, नेपालले (GYBN, Nepal) अटर्स अफ साउथ एसिया, रिसर्च मेथोडोलोजी एन्ड फिल्ड टेक्निक्स नामक सन्चालन गर्नेछ र बिशेषत विद्यार्थीहरुलाई लक्षित गरिएको छ। यसमा अमेरिकी अनुसन्धानकर्ता अक्षित कुमार सुथरले विद्यार्थीहरुलाई आफ्ना अनुसन्धान अनुभव बाँड्नुका साथै ओँत अनुसन्धानमा काम लाग्ने फिल्ड तहका कार्यका बारेमा बताउनु हुने छ । त्यसैगरी Alumni Association for Conservation and Development ले वोर्ल्ड अटर डे नाम सहित ‘ओँत वेटलैंड इकोसिस्टमको दूत’ भन्ने नाराका साथ अर्को वेविनार सन्चालन गर्दैछ । सबै ओंत प्रेमी र संरक्षण उत्साहीहरुलाई खुला रहेको यस कार्यक्रममा स्टिभ लकेट, गोपाकुमार मेनन, आरती बस्नेत, सुजिता ढकाल र मोहन बिक्रम श्रेष्ठका प्रस्तुती रहने छन् ।
(लेखक ढकाल वाइल्ड्लाइफ रिसर्चर हुन् ।)