डा. केसीको जीवन रक्षाको माग गर्दै चिकित्सक संघले गर्‍यो आन्दोलनको घोषणा

-


     मर्दी न्युज    
     असाेज २१ गते २०७७ मा प्रकाशित


काठमाडौं । २४ दिनदेखि अनशनरत प्रा.डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै नेपाल चिकित्सक संघले आन्दोलनको घोषणा गरेको छ । संघले एक विज्ञप्ति जारी गर्दै डा. केसीको सत्याग्रहको २४ दिनपुग्दा समेत सरकारले वार्ता टोली पनि गठन गर्न नसकेको भन्दै आन्दोलनका कार्यक्रमहरु अगाडि सारेको जनाएको छ ।

आन्दोलनका कार्यक्रम अन्तर्गत पहिलो दिन संघले बिहीबार बिहान ९ देखि ११ बजेसम्म देशभरका स्वास्थ्य संस्था तथा अस्पतालमा आकस्मिक र कोरोना उपचारबाहेक सबै सेवा बहिष्कार गर्ने भएको छ । सबै सेवा बहिष्कार गरेर जनस्वास्थ्य मापदण्ड पालना गर्दै धर्ना दिने संघले जनाएको छ ।

त्यसैगरी शुक्रबार देशभर आकस्मिक र कोरोना उपचारबाहेक अन्य स्वास्थ्य सेवा बहिष्कार गर्ने घोषणा संघले गरेको छ । अर्को निर्णय नहुँदासम्म सबै चिकित्सकले कालोपट्टी बाँधेर काम गर्ने भएका छ ।

संघले तत्काल सरकारले वार्ता टोली गठन गरेर उनको सत्याग्रहको अन्त्य नगरे थप आन्दोलन गर्ने चेतावनी दिएको छ ।

आइतबार संघले डा. केसीसँग वार्ता समिति गठन गर्न ७२ घण्टे अल्टिमेटम दिएको थियो । तर सरकारले वार्ताको कुनै चासो नदिएपछि संघले आन्दोलन गर्ने चेतावनी दिएको जनाएको छ ।