
काठमाडौँ । सरकारले भोलि सोमवारदेखि सञ्चारकर्मीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने निर्णय गरेको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले अग्रभागमा रहेर काम गरिरहेका सञ्चारकर्मीहरुलाई भोलिदेखि खोप लगाउने व्यवस्था गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग सहमति गरिएको जानकारी दिए ।
संचारमन्त्री पार्वत गुरुङले बानेश्वरस्थित निजामति कर्मचारी अस्पतालमा पत्रकारलाई खोप लगाउने व्यवस्था गरिएको जनाएका छन् । सरकारले १३ हजारभन्दा बढी पत्रकारलाई खोप लगाउने तयारी गरेको छ ।
सूचना विभागको प्रेसपासको आधारमा सरकारले खोप लगाउने पत्रकारको विवरण तयार पारेको हो । राजधानीमा आइतबार आयोजित कार्यक्रममा मन्त्री गुरुङले पत्रकारलाई लगाउने खोपको व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयसँग सहकार्य गरिने बताए ।
मन्त्री गुरुङले कोरोना प्रभावित पत्रकारका लागि राहतको व्यवस्था गर्न सरकारले तयारी गरिरहेको समेत बताए । शनिवार सकिएको खोप अभियानको पहिलो चरणमा स्वास्थ्यकर्मीले खोप लगाएका थिए । पहिलो चरणमा १ लाख ८१ हजार ८५७ जनाले खोप लगाए ।
सिभिल अस्पतालमा पत्रकार र पाटन अस्पतालमा यूएन एजेन्सीमा कार्यरत तथा विदेशी कर्मचारीलाई खोप लगाइने भएको छ । शिक्षण अस्पताल र शहीद गंगालाल अस्पतालमा कुटनीतिक नियोगका कर्मचारीलाई खोप दिइने भएको छ । शुक्रवारसम्म दोस्रो चरणको खोप लगाइसक्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


