गण्डकीमा मुख्यमन्त्री चयनको अन्तिम समयसीमा आज

-


     मर्दी न्युज    
     वैशाख २९ गते २०७८ मा प्रकाशित


पोखरा । गण्डकी प्रदेशमा मुख्यमन्त्रीको चयन आज हुँदैछ । निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको तीन दिनको समयसमीमा आज सकिँदैछ । 

गुरुङले गत आइतबार राजीनामा दिएपछि सोही दिन प्रदेश प्रमुख सीता पौडेलले दलहरूलाई नयाँ सरकार गठनका लागि आज दिउँसो ४ बजेसम्मको समय दिएकी थिइन् । 

प्रदेश प्रमुखले दिएको समयसीमा भित्र दलहरूले बहुमत पुर्याई नयाँ मुख्यमन्त्रीको नाम सिफारिस गर्नुपर्ने छ । 

यता गण्डकी प्रदेशका राष्ट्रिय जनमार्चाका संसदीय दल नेता कृष्ण थापाले नयाँ सरकार बनाउने पक्षमा मतदान गर्न अस्वीकार गरेसँगै कांग्रेस नेतृत्वको सरकार गठन मंगलबार हुन सकेन । 

नेता थापाले साथ दिएमात्रै नयाँ सरकारको पक्षमा बहुमत पुग्छ । पार्टी केन्द्रले कांग्रेस नेतृत्व सरकारको पक्षमा रहन भनेपछि उनी असन्तुष्ट थिए । 

साथ दिने/नदिनेबारे दल नेता थापाले सोमबारसम्म स्पष्ट बोलेका थिएनन् । तर, विपक्षी दल हस्ताक्षर जुटाउने अन्तिम तयारी गरिरहँदा मंगलबार नेता थापाले हस्ताक्षर गर्न अस्वीकार गरे ।

आज दिउँसो ४ बजेसम्म जनमोर्चा दलका नेता कृष्ण थापा आफ्नो निर्णयमा अडिग रहे पृथ्वीसुब्बा गुरुङ दोस्रोपटक गण्डकीको मुख्यमन्त्री बन्ने छन् । 

संविधानको धारा १६८ को उपधारा ३ ले गठबन्धनको सरकार बन्न सक्ने अवस्था नभए प्रदेश सभामा सबैभन्दा बढी सदस्यहरु भएको दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्न सक्ने व्यवस्था गरेको छ । 

६० सदस्यीय प्रदेशमा एमालेका २७, कांग्रेसका १५, माओवादी केन्द्रका १२, राष्ट्रिय जनमोर्चाका ३, जसपाका २ र स्वतन्त्रबाट १ सांसद छन् । नयाँ सरकार गठनका लागि ३१ सांसद आवश्यक पर्छ ।