
काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा बालानन्द शर्मा नियुक्त भएका छन् ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले नेपाली सेनाका पूर्वरथी शर्मालाई सीसीएमसीको सीईओमा नियुक्त गरेको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराइले जानकारी दिए ।
यसअघि सीसीएमसीको नेतृत्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले गरिरहेका थिए । सरकारले कोरोना नियन्त्रण तथा रोकथामका लागि अध्यादेश मार्फत सीसीएमसीको पुनर्गठन गरेको छ। अब प्रधानमन्त्रीको नेतृत्वमा सीसीएमसी निर्देशक समिति रहनेछ।
पूर्वरथी शर्माले नेपाली सेना र माओवादी सेनाको समायोजन गर्न बनेको विशेष समितिको संयोजक भएर पनि काम गरेका थिए ।
निर्देशक समितिमा उपप्रधानमन्त्री तथा रक्षा मन्त्री, गृह, सामान्य प्रशासन तथा सङ्घीय मामिला, उद्योग वाणिज्य तथा आपूर्ति, स्वास्थ्य तथा जनसङ्ख्या, अर्थ, कृषि, परराष्ट्र, ऊर्जा र पर्यटन मन्त्री सदस्य छन् ।

