
फाइल तस्बिर
वासिङटन डीसी । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले जलवायु परिवर्तन र लैंगिक समानता २१औँ शताब्दीको ठूलो चुनौती रहेको र यसलाई विश्वव्यापी रूपमा सामना गर्न ऐक्यबद्धताको खाँचो रहेको बताएकी छन् ।
संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा आयोजित महिलाको अवस्था विषयक संयुक्त राष्ट्रसंघको ६६औँ सत्रलाई सोमबार सम्बोधन गर्दै मन्त्री रेग्मीले नेपालले महिलाको सशक्तिकरणका लागि संवैधानिक र कानुनी व्यवस्था गर्दै आवश्यक संरचना समेत निर्माण गरेको बताइन् ।
उनले भनिन्, “नेपालले महिलाको हकलाई मौलिक हकका रूपमा राखेको र यसले सुरक्षित मातृत्व, प्रजनन स्वास्थ्य, शिक्षा, समान वेतन, सामाजिक सुरक्षा र सम्पत्तिको अधिकार समेत सुनिश्चित गरेको छ ।”
पछिल्लो समयमा जलवायु परिवर्तनले महिलामा गम्भीर असर पारेको उल्लेख गर्दै महिला र बालिकालाई यसबाट परेको प्रभावको क्षति न्यूनीकरण गर्न यस विषयमा नीति निर्माण गर्ने निर्णायक एवं कार्यान्वयन तहमा नै महिलालाई राख्नुपर्नेमा पनि जोड दिइन् ।
उनले नेपाल सरकारले सन् २०४५ सम्ममा शून्य उत्सर्जनको लक्ष्य राखेको जानकारी गराउँदै नेपालले पर्यावरणीय परिवर्तनको नीति र कार्ययोजनामा लैंगिक समानता र सामाजिक समावेशीकरणका विषयमा महिलालाई निर्णायक तहमा राखेको बताइन् ।
नेपाल देशका हरेक तहमा महिला र बालिकाको सहभागिताको पक्षमा प्रतिबद्ध रहेको बताउँदै यसमार्फत लैंगिक समानता र दिगो विकासको लक्ष्य हासिल हुने धारणा पनि राखिन् ।
मार्च १४ देखि २२ सम्म सञ्चालन हुने उक्त सम्मेलनमा मन्त्री रेग्मीको नेतृत्वमा संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोग प्रमुख अमृत राईलगायत सहभागी छन् ।