
पोखरा । स्थानीय तह सदस्य निर्वाचन– २०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धन र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवारले अग्रता लिएका छन् ।
हालसम्म एक लाख २५ हजार ५२० मत गणना हुँदा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा(एकीकृत समाजवादी)का धनराज आचार्यले ५० हजार ६१२ मत प्राप्त गरेका छन् ।
त्यसै गरी नेकपा(एमाले)का प्रमुख पदका उम्मेदवार कृष्णबहादुर थापाले ४६ हजार ५८३ मत प्राप्त गरेका छन् । गठबन्धनका आचार्यले ४ हजार २९ मतान्तरसहित अग्रता हासिल गरेका हुन् ।
उपप्रमुखमा एमालेकी मञ्जुदेवी गुरुङ ५३ हजार १७३ मतसहित अघि छिन् भने गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार कोपिला रानाभाटले ४९ हजार ५८६ मतसहित उनलाई पछ्याएकी छन् ।
महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुग्दै गर्दा ३३ वडा रहेको पोखराका १८ वडामा नेपाली काँग्रेस विजयी भएको छ भने सात वडामा एमाले विजयी भएको छ ।

