बैकालगैरी पहिलो पटक पोखरा उपत्यकामा

-


     मनशान्त घिमिरे    
     पुस ५ गते २०७९ मा प्रकाशित


फोटोः माकिज कोट्लारस्की

पोखरा । फिरन्ते हाँसको प्रजाति बैकालगैरी फेवातालको सिमसार क्षेत्रमा देखिएको छ, जुन उपत्यकाको पहिलो अभिलेख हो ।

पंछी अबलोकनका क्रममा जर्मन नागरिक रोअल्ड वियरहल्टर ले यो हाँस यहि डिसेम्बर १८ तारिखका दिन सिमसारमा भेटाएका थिए । साथै आज बिहान पोखरा पंछी समाजको टोली हेमन्त ढकाल, सचेत प्रभात श्रेष्ठ, झलक चौधरी, साजन रानाभाट र लक्ष्मी मल्लले समेत अबलोकन गरेका थिए ।

अन्नपूर्ण संरक्षण क्षेत्रको लारजुङ नजिकै कालीगण्डकी नदीमा सन् १९८४ को अक्टोवर महिनामा नेपालका लागि पहिलो पटक अभिलेख गरिएको यस प्रजाति सन् १९८७ र १९८९ मा कोशी ब्यारेजमा देखिएको थियो । त्यसैगरि काठमाण्डौं उपत्यकाको टौदहमा सन् २००५ मा र सुनसरीको बर्जुतालमा सन् २०१२, २०२० र २०२१ मा भेटिएको नेपालको संकटापन्न चराहरुको रातो किताबमा उल्लेख गरिएको छ ।

समुन्द्री सतहको ७५ देखि २५६० मिटरको विचमा अबलोकन गरिएको यस प्रजाति कपिलवस्तुको जगदिशपुर जलाशयमा पनि सन् २०२१ मा अभिलेख गरिएको थियो ।

फाईल फोटोः माकिज कोट्लारस्की



Tags: