प्रकृति र संस्कृतिलाई घरवासमार्फत जोड्दै पसगाउँ

-


     मर्दी न्युज    
     फागुन २९ गते २०८० मा प्रकाशित


गण्डकी, ३० फागुन । ढुङ्गैढुङ्गाले छपक्क छापिएको गाउँ जसको शिरमा क्होंमे्रडाँडा छ भने पुछारमा अचम्मका प्रकृतिले कुँदिएका शिला अनि फुक्दा भ्वाँभ्वाँ बज्ने प्राकृतिक बाजा । प्रकृतिले मात्रै नभइ संस्कृतिले पनि सजिएको ऐतिहासिक गाउँको पहिचान बनाएको छ लमजुङको क्हेलासोँथर गाउँपालिका–६ स्थित पसगाउँ ।

समुद्री सतहबाट एक हजार छ सय ५० मिटरको उचाइमा रहेको यो गाउँको प्राचीन मौलिकतालाई जगेर्ना गर्दै गुरुङ समुदायको कृष्णचरित्र नृत्य, सारङ्गी नृत्य, झ्याउरे नाच, सती घाटु नाचलगायत लोपोन्मुख संस्कृतिलाई जोगाएर राखिएको छ ।

गाउँको प्रकृति र संस्कृतिलाई पर्यटनसँग जोड्ने लक्ष्यका साथ पसगाउँमा विसं २०६० देखि घरवास (होमस्टे) सञ्चालन गर्दै आइएको पसगाउँ सामुदायिक होमस्टेका अध्यक्ष एवं क्होलासोँथर गाउँपालिकाका अध्यक्ष सूर्यप्रसाद गुरुङले बताए । “पर्यटनको विकासलाई लक्षित गरी प्रकृति र संस्कृतिलाई होमस्टेमार्फत जोड्ने गरी निरन्तर लागिरहेका छौँ”, उनले भने, “प्राचीन मौलिकताको जगेर्ना गर्दै पर्यटनको विकाससँगै स्थानीयको आजआर्जन वृद्धि गरी समृद्धि हासिल गर्नु हाम्रो लक्ष्य छ ।”

होमस्टेमा प्रत्येक दिन एक सयसम्म पर्यटक राख्न सकिने होमस्टेका अध्यक्ष गुरुङले बताए । “स्थानीय मौलिकतालाई जोगाउनका लागि ढुङ्गाले छाएका घरलाई संरक्षण गरिएका छन् । गाउँका चोक तथा बाटो पनि ढुङ्गाले छापिएका छन्”, उनले भने ।

यहाँका एक सय ५३ घरधुरीमध्ये अधिकांशका छाना ढुङ्गाबाटै छाइएका स्थानीय चन्द्रबहादुर गुरुङले बताए । विगतमा यहाँ भेडापालन राम्रो हुने गरे पनि पछिल्लो समय कृषिप्रतिको अनिच्छासँगै भेडापालनमा कमी आएको उनको भनाइ छ ।

पछिल्ला समय युवा जनशक्ति विदेशिने क्रमको असर रमणीय गाउँहरूले भोगिरहेको बताउँदै चन्द्रबहादुरले यसबाट पसगाउँ पनि अछुतो नबनेको उल्लेख गरे ।

यहाँको मौलिकता जोगाउनका २०६० सालदेखि होमस्टे एकजुट भएर लागिरहेको बताउँदै ७८ वर्षीय पदमबहादुर गुरुङले गाउँको शिरको क्होंमे्रडाँडा, पुछारमा रहेका कलात्मक प्राकृतिक शिला, भ्वाँभ्वाँ बाजालगायत वस्तुले यहाँको पहिचान बनाएको उल्लेख गरे ।

कैलाश पर्वत जस्तै देखिने शिलाका साथै विभिन्न देवीदेवताका आकृतिका शिलाले यहाँको धार्मिक महत्वलाई पनि उजागर गरेको पदमबहादुरले बताए । गाउँ भन्दा तल रहेका प्राकृतिक शिलाको अध्ययन अनुसन्धान आवश्यक रहेको भन्दै यी शिलालाई गाउँको पर्यटनसँग जोड्नु अपरिहार्य रहेको उनले बताए ।

शिला रहेको क्षेत्रस्थित सेतो भिरमा प्राचीनकालदेखि लामा बस्ने विश्वास रहेको भन्दै पदमबहादुरले प्रत्येक साउने सङ्क्रान्तिमा लुतो फाल्ने समयमा यस भिरमा बन्दुक पड्काउने प्राचीन विश्वास रहेको उल्लेख गरे । “मैले बाल्यावस्थामा साउने सङ्क्रान्तिको दिन साँझ लुतो फल्ने समयमा बन्दुक पड्किएको प्रत्यक्ष अनुभूति गरेको छु”, उनले भने।

यहाँस्थित ठूलो शिलाको फेदमा रहेको देवीको प्राकृतिक मूर्तिलाई स्थानीयले अत्यन्त श्रद्धाविश्वासका साथ पूजाआजा गर्ने गरेको उल्लेख गर्दै पदमबहादुरले पूजा गरेमा मनले चिताएको पुग्ने विश्वास रहेकाले यहाँको धार्मिक महत्व झनै बढेको बताए ।

यहाँस्थित ढुङ्गाको प्वालमा फुकेर भ्वाँभ्वाँ गरी बजाउने प्राकृतिक बाजा पनि अर्को महत्वपूर्ण आकर्षण रहेको स्थानीय पदमबहादुरको भनाइ छ । ढुङ्गाको प्वालबाट फुक्दा वरपरका गाउँसम्म सुनिने गरी भ्वाँभ्वाँ बज्ने भएकाले यसलाई भ्वाभ्वाँ बाजा भनिएको उनले जानकारी दिए ।

गाउँमा होमस्टे सञ्चालनमा आएसँगै पोखरालगायत विभिन्न स्थानबाट पर्यटक आउने गरेका पसगाउँ सामुदायिक होमस्टेका पूर्वअध्यक्ष बलराम गुरुङले बताए । गाउँमा कूल एक सय ५३ घरमध्ये अधिकांश गुरुङ समुदायका रहेका बताउँदै उनले हाल २१ घरमा होमस्टे सञ्चालन भइरहेको जानकारी दिए ।

सुरुमा तीना घरबाट होमस्टे सुरु गरिएको भन्दै बलरामले यहाँ आएका पर्यटक खुसी भएर फर्कने गरेको अनुभव सुनाए । पसगाउँ आइपुग्न अझै पनि बाटो राम्रोसँग व्यवस्थित भइनसकेको बताउँदै उनले बाटोलगायतका पूर्वाधार निर्माण गर्न सके पर्यटकको आगमन बढ्ने विश्वास व्यक्त गरे ।

पसगाउँ आउन विभिन्न बाटा रहेका छन् । लमजुङको बेँसीसहरबाट घलेगाउँ, भुजुङ हुँदै यहाँ आउन सकिन्छ भने बेँसीहरबाटै मालिङ, साल्मे भञ्ज्याङ हुँदै पनि आउन सकिन्छ । पोखराबाट कालिका हुँदै, रामबजार कर्पुटार हुँदै यहाँ आउने सवारीसाधन सञ्चालन हुन्छन् ।

पोखराहुँदै यहाँ आउनका लागि कास्कीको मादीतर्फको बाटो व्यवस्थित नहुँदा यात्रुले समस्या भोग्दै आएका यातायात व्यवसायी अनिल गुरुङले बताए । मादीतर्फका केही खण्डमा सडक व्यवस्थित गर्न सकेमा नियमित आवतजावत सहज बन्ने उनको भनाइ छ ।

प्रकृति र संस्कृतिले सम्पन्न पसगाउँसम्म पुग्ने सडकलाई स्तरोन्नति गर्न राज्यको ध्यान पुग्नु जरुरी रहेको नेपाल उद्योग तथा व्यवसायी महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष बोबरजङ्ग गुरुङले बताए । “प्रकृति र संस्कृतिले सम्पन्न गाउँमा पर्यटक पुग्नका लागि सडक सञ्जाल व्यवस्थित हुनु अपरिहार्य छ”, उनले भने, “राज्यले सडक व्यवस्थित गरिदिएमा यहाँका स्थानीय पर्यटकीय गतिविधि बढाउन थप अग्रसर हुनेछन् ।”

प्रचारप्रसार र प्रवर्द्धनका माध्यमबाट रमणीय गाउँलाई पर्यटनसँग जोड्न सकिने नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख नवीन पोख्रेलले बताए । स्थानीयको जागरुकतासँगै पर्यटन प्रवर्द्धनमा बोर्डका तर्फबाट सक्दो सहयोग गर्ने उनले विश्वास व्यक्त गरे ।