
पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार फेवाताल किनारमा आयोजित कार्यक्रममा पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेका छन् । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले पोखरालाई पर्यटनको राजधानी घोषणा कार्यक्रम आयोजना गरेका हुन् ।
प्रधानमन्त्री प्रचण्डले पोखरा पर्यटन राजधानी लिखित शिलालेख स्तम्भ अनावरण गर्नुका साथै पोखरा पर्यटन राजधानी घोषणा गरेका थिए । प्रधानमन्त्री प्रचण्डले भने, ‘प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटनको अदिप्तीय संगम पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्दछु।’
पोखरा नेपालको पर्यटकीय क्षेत्रको प्रमुख गन्तव्य हो । उक्त गन्तव्य आजदेखि मुलुककै पर्यटनको लागि राजधानीको रूपमा नेपाल सरकारबाट घोषणा भएको छ ।
पर्यटन राजधानी घोषणापछि प्रधानमन्त्री ‘प्रचण्ड’ले पर्यटकीय राजधानी पोखराको विकासका लागि सरकारले प्राथमिकतापूर्वक आवश्यक सहयोग, समन्वय तथा सहकार्य गर्ने सुनाए ।
पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न आज आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले पोखरालाई अझ सुन्दर, सुरक्षित, हरियाली, व्यवस्थित र समुन्नत शहरको रूपमा विकास गर्न सरकारले उच्च प्राथमिकता दिने विश्वास दिलाए ।
“पोखराको विकास निर्माणमा विद्यमान तथा सम्भावित समस्या समाधानका लागि समेत यथोचित पहल तथा समन्वय गरिनेछ,” प्रधानमन्त्री प्रचण्डले भने, “पर्यटकीय राजधानीको सुदृढ पूर्वाधार विकासका लागि अन्तर्राष्ट्रिय विकास साझेदारहरूबाट आवश्यक साझेदारी र सहयोग प्राप्त गर्न तथा निजी क्षेत्रका लगानीकर्ताहरूबाट आकर्षित गर्न सरकारले आवश्यक पहल गर्नेछ ।” उनले आगामी महिना आयोजन गर्न लागिएको लगानी सम्मेलनले समेत यस कार्यमा महत्त्वपूर्ण सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।
त्यस अवसरमा गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पर्यटनको राजधानी घोषणाले विश्व पर्यटन बजारमा पोखराको ‘ब्राण्डिङ’ हुने विश्वास व्यक्त गरे । दिगो पर्यटन विकासका माध्यमबाट गण्डकी प्रदेश मात्रै नभई सिङ्गै देशको समृद्धिमा टेवा पुग्ने उनको भनाइ छ ।
कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले प्राकृतिक, सांस्कृतिक साहसिक क्षेत्रको दृष्टिले अनुपम, विश्वकै शीर्ष पर्यटकीय गन्तव्यको रूपमा ख्याति प्राप्त सुन्दर पोखरालाई मुलुककै पर्यटकीय राजधानीको रूपमा औपचारिक रूपमा घोषणा गरिएको बताए ।
उनले पोखरा पर्यटन राजधानी घोषणाले समग्र गण्डकी प्रदेश र मुलुककै श्रीवृद्धिमा नयाँ आयाम थपिने विश्वास लिएको धारणा राखे । उनले विश्वका विभिन्न मुलुकमा शहरका आ–आफ्नै विशेषता र पहिचानको आधारमा राजधानी घोषणा गर्ने तथ्यलाई समेत विचार गरी पोखरालाई पर्यटन राजधानी घोषणा गरिएको दाबी गरे ।
‘पोखरालाई पर्यटन राजधानी घोषणाका लागि विज्ञसहित अध्ययन समिति गठन गरिएको थियो ।घोषणा अघि बिहान १०ः१५ बजे बसुन्धरा पार्कबाट विभिन्न सांस्कृतिक झाँकीसहितको र्याली निकालिएको थियो ।