काठमाडौँ, २ वैशाख । अष्ट्रेलियन पर्वतारोही एली पेपरले बिना अक्सिजन अन्नपूर्ण–१ हिमालको सफल आरोहण गरेकी छन् ।
वसन्त ऋतुको जारी आरोहणमा आरोही पेपरले विश्वको १०औँ अग्लो हिमाल अन्नपूर्णको सफल आरोहण गरेको हो । सेभेन समिट ट्रेक्स कम्पनीका अध्यक्ष मिङ्मा शेर्पाका अनुसार ४७ वर्षीया महिला पेपरले शेर्पा पथप्रदर्शक मिकेल शेर्पा र निमा शेर्पाका साथमा आज मध्याह्न १२ बजेर ७ मिनेटमा अन्नपूर्णको चुचुरो पुग्न सफल भएको जनाइएको छ । आफ्नो कम्पनीबाट गएका लगभग सबैले यो सिजनमा अन्नपूर्ण आरोहण गरेको अध्यक्ष शेर्पाले बताए ।
यसअघि १७ वर्षीय नेपाली आरोही निमा रिन्जी शेर्पाले पनि बिना अक्सिजन अन्नपूर्ण–१ हिमालको सफल आरोहण गरेको जनाइएको छ । उनले अप्रिल १२ तारिखका दिन अपराह्न अन्नपूर्ण हिमालको आरोहण गरेको थियो । दुवै आरोही सेभेन समिट ट्रेक्स कम्पनीमार्फत आरोहणमा गएका थिए ।
दुई आरोहीले बिना अक्सिजन अन्नपूर्ण हिमाल आरोहण गरेको जानकारी आएको पर्यटन विभागका निर्देशक राकेश गुरुङले बताए । उनले भने, “अन्नपूर्ण–१ हिमालमा ‘रोपफिक्सिङ’को काम सफल भएसँगै धमाधम आरोहण भइरहेको छ । दुई दिनको अवधिमा दुई जनाले बिना अक्सिजन आरोहण गरेको जानकारी आएको छ, यसलाई हामी (विभाग) अफिसियली प्रमाणीकरण गर्न बाँकी छ ।”
दुई वर्षभित्र विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमाल आरोहण गर्ने लक्ष्य लिएकी अष्ट्रेलियन आरोही पेपरले अन्नपूर्ण आरोहणसँगै तीनवटा आठ हजार मिटर अग्ला हिमाल सफलतापूर्वक आरोहण गर्न सफल भएको छ । उनले यसपछि कञ्चनजङ्घा र मकालु हिमालको आरोहण गर्ने लक्ष्य रहेको छ ।
सन् २००७ मा माउन्ट चोयु हिमाल तिब्बत तर्फाबाट बिना अक्सिजन हिमाल आरोहण गर्न थाल्नुभएको थियो । सन् २०२३ को जुलाई १५ तारिखका दिन विश्वको १२औँ अग्लो हिमाल ब्रोडपिक (८,०५२ मिटर) र विश्वको पाँचौँ अग्लो हिमाल मनास्लु (८,१६३ मिटर) को सन् २०२३ को सेप्टेम्बर २८ तारिखका अक्सिजनको प्रयोग नगरी सफल आरोहण गरेको जनाइएको छ ।
सिड्नीकी पर्वतारोही पेपरले सन् २०२३ को जुलाई १५ तारिखका दिन विश्वको १२औँ अग्लो हिमाल ब्रोडपिक (८,०५२ मिटर) को बिना अक्सिजन सफल आरोहण गरी पहिलो अष्ट्रेलियाली महिला बनेको थियो । हालसम्म छजनाले मात्र अक्सिजन बिना विश्वका आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल आरोहण गरेको जनाइन्छ । पर्यटन विभागका अनुसार यो याममा अन्नपूर्ण–१ हिमाल आरोहणका लागि तीन आरोही समूहका ११ महिला र १४ पुरुष गरी कूल २५ जनाले आरोहण अनुमति लिएका थिए ।