
पोखरा । आहा ! रारा पोखरा गोल्डकपको उपाधि उज्वेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लवले जितेको छ । सहारा क्लव पोखराको आयोजनामा पोखरामा शनिबार भएको फाइनल खेलमा ब्ल्याक बुल्सले सर्बाधिक उपाधि बिजेता नेपाल प्रहरीको नेपाल पुलिस क्लवलाई ३–१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । प्रतियोगितामा पहिलो पटकको सहभागितामै उपाधि जितेर ब्ल्याक बुल्सले ईतिहास रच्न सफल भएको छ ।
खेलको ४०औं मिनेटमा कप्तान जाखोनगिर अख्मादोभको गोलमा ब्ल्याक बुल्सले पहिलो अग्रता लिएको थियो । ५९औं ब्ल्याक बुल्सका असिलबेक ओरिफजोनोभले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाएका थिए । ६६औं मिनेटमा साभकातजोन सात्तोरोभले गोल गरेपछि अग्रता तेब्बर भएको थियो ।
पुलिसका उज्ज्वल राईले खेलको ७४औं मिनेटमा एक गोल फर्काए । अट्याकिङ एरियाबाट हानेको फ्री किक गोलमा परिणत भएको थियो । त्यसपछि दुवैतर्फबाट गोल हुन सकेन र ब्ल्याक बुल्स च्याम्पियन बन्यो ।
उपाधिसँगै ब्ल्याक बुल्सले १२ लाख १ हजार र पुलिस क्लबले ६ लाख १ हजार रुपैयाँमा प्राप्त गर्यो । त्यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई स्कुटरसहित विभिन्न विधागत पुरस्कार प्रदान गरिएकाे क्लवका अध्यक्ष केशवराज बरालले जानकारी दिए ।