
पोखरा । १९ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनबाट १२ लाख २९ हजार ५सय ११ रुपैयाँ बचत भएको छ । नेपाल भूतपूर्व खेलाडी मञ्च पोखराले गत फागुन ३ गते सम्पन्न गरेको पोखरा म्याराथनबाट ९३ लाख ७० हजार ६ सय ८९ रुपैयाँ आम्दानी गरेकोमा ८१ लाख ४१ हजार १ सय ७७ रुपैयाँ खर्च भई १२ लाख २९ हजार ५सय ११ रुपैयाँ बचत भएको मञ्चका कोषाध्यक्ष हरिबहादुर बरुवालले जानकारी दिए ।
पोखरा म्याराथनको आय–व्यय सार्वजनिक एवं मञ्चको रजत महोत्सवमा आयोजना गर्ने विभिन्न कार्यक्रमबारे जानकारी दिन आयोजना गरेको कार्यक्रममा कोषाध्यक्ष बरुवालले पछिल्लो ३ वर्षयताको अवधिमा सर्वाधिक रकम बचत गर्न सफल भएको बताए ।
मञ्चका अध्यक्ष दिलबहादुर गुरुङले पोखरा अन्तर्राष्ट्रिय म्याराथन, प्रतिभावान खेलाडी प्रोत्साहन र खेलाडी उत्पादनका लागि २ करोडको अक्षयकोष स्थापना गर्ने योजना सुनाए । ‘अक्षयकोष अभियानमा अहिलेसम्म ३१ लाख ५४ हजार २ सय ५६ रुपैयाँ ३३ पैसा संकलन भएको छ,’ उनले भने, ‘मञ्चका पदाधिकारी र आजीवन सदस्यलाई केन्द्रित गरेर यो वर्ष ५० प्रतिशत रकम उठाउने लक्ष्य छ ।’
सो अक्षयकोषमा देश विदेशमा छरिएर रहेका मञ्चका आजिवन सदस्य र दिवंगत आजिवन सदस्यका परिवारहरुबाट आफ्ना स्वर्गीय स्वजनको स्मृतिमा रकम प्रदान गरेका हुन् । सो अक्षयकोषमा मञ्चका आजिवन सदस्य तथा डायमण्ड बुद्विस्ट सेन्टर यूकेका अध्यक्ष योगेश गुरूङले रकम प्रदान गरी सुरूवात गरेका थिए ।
मञ्चका अध्यक्ष गुरुङले रजत वर्षको सन्दर्भमा नेपाली खेलकुदमा विशेष योगदान पु¥याएका खेलकर्मीलाई नगद १ लाखसहित मेडल तथा सम्मानपत्र प्रदान गर्ने बताए । यो पुरस्कार हरेक २ वर्षमा खेलकर्मीलाई प्रदान गर्ने कार्यक्रम छ ।
२० औं सस्कणको पोखरा अन्तर्राष्ट्रिय म्याराथन २०८२ फागुन २ गते शनिबारका दिन आयोजना हुने मञ्चले जानकारी दिएको छ । मञ्चले २० औं सस्करणको लागि खेलाडी दर्ता प्रक्रिया समेत सुरू गरेको जनाएको छ ।
१९ औं संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याली धावक विल्सन चेरियुयिटले जितेका थिए ।