
पोखरा । नवौं पोखरा स्पोर्टस् अवार्डमा वर्ष खेलाडीको उपाधि महिलातर्फ अरुणा शाही र पुरुषतर्फ विश्वास अधिकारीले हात पारेका छन् ।
नवौं संस्करणको पोखरा स्पोर्टस अवार्डमा भलिबलकी शाही र अधिकारी वर्ष खेलाडी घोषित भएका हुन्। वर्ष खेलाडी अरुणा र विश्वासले टेलजी इलेक्ट्रिक स्कुटरको साथमा अवार्ड प्राप्त गरेका छन्।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले शुक्रबार पोखरामा आयोजना गरेको अवार्ड समारोहमा नेपाली महिला भलिबल टिमकी कप्तान अरुणा शाही वर्ष खेलाडी घोषित भइन्।
यो विधामा अरुणासँगै आइटिएफ तेक्वान्दो/मुवाथाइकी सुस्मिता थापा मगर र फेन्सिङकी कृपा गुरुङ मनोनयमा परेका थिए।
पुरुषतर्फ वर्ष खेलाडी घोषित विश्वास अधिकारी दुई वर्षअघि मात्रै गण्डकी प्रदेशको टिममा डेब्यु गरेका थिए। मिडल ब्लकरको भूमिकामा उनी खेल्छन्। वर्ष खेलाडी पुरुषतर्फ टेनिसका प्रदीप खड्का र फुटबलका सुमित श्रेष्ठ पनि मनोनयनमा अटाएका थिए। उदीयमान खेलाडीको अवार्ड क्रिकेटकी रचना चौधरीले प्राप्त गरेकी छन्। उदीयमान खेलाडीको मनोनयनमा भलिबलका जितबहादुर सार्की र एथ्लेटिक्सका बादल कार्कीसमेत अटाएका थिए।
टेनिसका नीरज थापा र भलिबलका रमेश केसीलाई पछि पार्दै उत्कृष्ट प्रशिक्षकको अवार्ड फुटबलका राजेन्द्र तामाङले जिते। उत्कृष्ट खेल संस्थाको अवार्ड म्याग्दी जिल्ला भलिबल संघले प्राप्त गर्यो।
वर्ष उत्कृष्ट खेल पत्रकारको अवार्ड विजय नेपालले पाए। उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, खेल संस्था र पत्रकारले ३५ हजार रुपैयाँसहित अवार्ड प्राप्त गरेका छन्। मञ्चले लाइफटाइम अचिभेमन्ट अवार्डबाट शुटिङकी प्रशिक्षक भगवती खत्री केसीलाई सम्मान गरेको छ। उनलाई चाँदीको करुवासहित अवार्ड प्रदान गरिएको हो।
मञ्चले खेलाडी तथा खेल क्षेत्रमा क्रियाशीललाई उर्जा थप्न २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्टस अवार्ड वितरण गर्दै आइरहेको छ ।