
काठमाडौँ । आगामी सरकारको नेतृत्वको सन्दर्भमा असन्तुष्टि जनाउँदै विवाद गरेका जेनजी प्रतिनिधिहरूलाई नेपाली सेनाले भोलि बिहान सम्पर्कमा आउन भनेको छ ।
जंगीअड्डा बाहिर नेपाली सेनाका प्रतिनिधिले माइकिङ गरेर यस्तो जानकारी गराएका हुन् । सरकारको नेतृत्वको सन्दर्भमा असन्तुष्टि जनाउँदै जेनजीले जंग्गीअड्डाबाहिर नाराबाजी गरेका थिए ।
‘को को हुनुहुन्छ नेतृत्वकर्ता, कति जना हुनुहुन्छ, त्यो ग्रुपबाट फोन नम्बर र नामसहित भोलि बिहान सम्पर्क गर्नुहोला,’ सेनाका प्रतिनिधिले भनेका छन्, ‘एक-एक जना ग्रुप लिडरको नाम सहित लेखेर हामीलाई दिनुहोला ।’
सुशिला कार्कीकाे नेतृत्वमा समर्थन र विरोध
आगामी सरकारको नेतृत्वमा पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई अघि बढाउने प्रस्ताव भएपछि विवाद सुरु भएको छ । बुधबार दिउँसो जेनजी प्रतिनिधिले पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीको नाम प्रस्ताव गरेका थिए । अहिले नेपाली सेनाको मुख्यालयमा जेनजी युवाहरूले नयाँ नेतृत्वको विषयलाई लिएर प्रदर्शन गरिरहेका छन् ।
उनीहरूले कार्की नयाँ नेतृत्वमा आउन नहुने भन्दै विरोध गरिरहेका हुन् । उता, कार्कीलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले समेत समर्थन जनाइसकेका छन् ।
तर, बाहिर भेला भएर युवाहरूले काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहसहितका नामहरू लिइरहेका छन् ।
दिनभर जनेजी युवाले सामाजिक सञ्जाल डिस्कर्डमा समेत कसलाई नेतृत्वमा ल्याउने भन्ने विषयमा छलफल गरेका थिए । त्यसक्रममा समेत कार्कीको पक्षमा बलियो मत प्रस्तुत भएको छ ।

