
सांकेतिक तस्विर
चितवनको मुग्लिन नारायणगढ सडक खण्डमा ठूलो पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।
इच्छाकामना गाउँपालिका-६ तुइन खोलामा आज साँझ आएको पहिरोले सडक अवरुद्ध भएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख गायत्री शर्माले आज साँझ खसेको पहिरोका कारण सडक अवरुद्ध भएको बताउँदै पहिरो पन्छाउने काम सुरु गरिएको जानकारी दिए । माथिबाट पहिरो आउने जोखिम कायमै रहेको उनको भनाइ छ ।
आज दिउँसोदेखि पहिरो खस्ने र पन्छाउने काम गरिरहेको शर्माले जानकारी दिए । शर्माका अनुसार साँझपख आएको पहिरो पन्छाउन केही समय लाग्ने देखिएको छ ।
पहिरो खस्ने जोखिम रहेकाले रातको समयमा यस खण्डको प्रयोग नगर्न प्रहरीले यात्रु तथा सवारीचालकलाई आग्रह गरेको छ ।

