विश्वकर्मा पूजा, वास्तु दिवस मनाइँदै

-


     मर्दी न्युज    
     असाेज १ गते २०८३ मा प्रकाशित


काठमाडौँ । कालिगढले आज विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवम् विश्वकर्मा पर्व मनाउँदै छन् ।

प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन विश्वकर्माको विधिपूर्वक पूजाआरधना गरिन्छ । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को तस्बिरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ ।

कलकारखानालाई विशेष रूपमा सजाएर श्रमिकले यो दिवस भव्यताका साथ मनाउँछन् । बालुवा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती मुहान स्थल सुन्दरी जल वा अन्य शुद्ध स्थलमा लगेर सेलाउने गरिन्छ ।

आजका दिन कालिगढले उपयोगमा ल्याउने औजारमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ ।

द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रूपमा मानी त्यसै समयदेखि पूजा गर्ने परम्परा बसेको प्रा तोयराज नेपाल बताउँछन् ।

प्राचीन भारत वर्षका चारदिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रूपमा समेत मानिन्छ । विश्वकर्माले निर्माण गरेको ‘भेद  द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रको बीचमा रहेको विश्वास गरिन्छ । विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रूपमा समेत मानिन्छ । ‘विश्वकर्मा प्रकाश’ नामक वास्तु शास्त्रको ग्रन्थ उनले नै रचना गर्नुभएको विश्वास गरिने वास्तु शास्त्री शिव पोखरेल बताउँछन् ।

यही सम्झनामा नेपालका कालिगढले भव्यरुपमा विश्वकर्मा बाबाको पूजा गरी उनको विद्वताको सम्मान गर्छन् । पूजा आराधना गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वास गरिन्छ । सोही विश्वासमा आज इञ्जिन जडान भएका यन्त्र सवारी साधनमा समेत पूजा आराधना गरिन्छ ।वास्तुशास्त्रका पुस्तकका लेखक एवं अध्येताको सम्झनामा आजको दिनलाई वास्तुविद्ले वास्तु दिवसका रूपमा मनाउने गर्छन् ।

पछिल्लो समय नेपालमा पनि वास्तु विद्याको पुनर्जागरण सुरु भएको छ । चार उपवेदमध्येको एक स्थापत्यवेदमा वास्तु शास्त्रकै विषय उल्लेख छ । लुप्तप्राय: भएको स्थापत्य वेदमा आधारित सहर एवं आवास निर्माण गर्नेको सङ्ख्या पनि बढ्न थालेको छ । यसैले गर्दा पछिल्लो दिनमा वास्तु विद्याको महत्त्व बढेको छ ।