
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नयाँ कार्यविधि बनाएर एकल (सोलो) प्याराग्लाइडिङ उडान खुला गरेको छ।
क्यानले सुरक्षा र अनुगमनमा कडा प्रावधानसहित उडान गर्न अनुमति दिएपछि साउन पहिलो साताबाट पोखरामा सोलो उडान थाल्ने तयारी भएको छ।
नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत २०७९ असोज ३० गते भएको प्याराग्लाइडिङ दुर्घटनामा खेलाडी निसिम थापाको ज्यान गएको थियो। लगत्तै सबै खाले प्याराग्इडिङ उडानमा प्रतिबन्ध लगाएको क्यानले पछि टेन्डम उडान खुला गरे पनि सोलो उडान बन्द थियो।
करिब तीन वर्षपछि एकल उडान अनुमतिले प्याराग्लाइडिङ व्यवसायी उत्साहित भएका छन्। नेपाल हवाई खेलकुद संस्था (ना) अध्यक्ष अनिल केसी नयाँ कार्यविधिका व्यवस्थाहरू पालना गर्दै साउन पहिलो साताबाट सोलो उडान थालिने बताउँछन्।

