रवीन्द्र ढाँटलाई सरकारले पाँच लाख पुरस्कार दिने

-


     मर्दी न्युज    
     श्रावण २८ गते २०८२ मा प्रकाशित


काठमाडौँ । म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन–१७) का बान्टमवेट च्याम्पियन, नेपाली एमएमए फाइटर रवीन्द्र ढाँटलाई सरकारले पाँच लाख रुपैयाँ पुरस्कार दिने भएको छ। भारतलाई हराउँदै उपाधि जितेका ढाँटलाई प्रोत्साहनस्वरूप ५ लाख रुपैयाँ दिने निर्णय भएको प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी दिएका छन्।

बुधबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उनले सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ढाँटलाई ५ लाख र उनका प्रशिक्षकलाई २ लाख रुपैयाँ दिने निर्णय गरेको बताए।

प्रधानमन्त्रीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘पहिलो पटक नेपाललाई उपाधि दिलाउन सफल रवीन्द्रलाई फेरि पनि बधाई !’

एमएमए फाइटर रविन्द्रले भारतको नोएडामा गत शनिबार राति सम्पन्न म्याट्रिक्स फाइट नाइट (एमएफएन) मा  टाइटल विजेता चोंगरेंग कोरेनलाई पराजित गर्दै उपाधि जितेका हुन् ।

यसअघि मंगलबार काठमाडौं महानगरले उनलाई २ लाख रुपैयाँ प्रदान गरेको थियो। यस्तै, बझाङका विभिन्न स्थानीय तहहरूले समेत नगद पुरस्कारसहित सम्मान गर्ने घोषणा गरेका छन्।