एभरेष्ट महिला भलिबल लिगमा कर्णाली र ललितपुरको विजयी सुरुआत

-


     मर्दी न्युज    
     भाद्र २० गते २०८२ मा प्रकाशित


पोखरा । पोखरा रंगशालास्थित कभर्डहलमा शुक्रबारदेखि दोस्रो संस्करणको एभरेष्ट भलिबल लिग (इडब्लुभिएल) फ्रेन्चाइज भलिबल लिग सुरु भएको छ । इन्फिनिटी ड्रिम्स प्रालिको आयोजनामा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा सञ्चालन भएको प्रतियोगिताको पहिलो खेलमा साविक विजेता कर्णाली यशविस र ललितपुर क्विन्सले विजयी सुरुआत गरेका छन् । 

आफ्नो पहिलो खेल जितेका दुवै टोलीले तीन-तीन अंक बटुलेका हुन् । प्रतियोगिताको उद्घाटन खेलमा कर्णालीले घरेलु टोली पोखरा निन्जाजमाथि ३–० को सोझो सेटमा जित निकालेको हो । कर्णालीले पहिलो सेट २५–२१ ले जित्यो । दोस्रो सेटमा २५–२० को जित निकालेको कर्णाली तेस्रो सेटमा झनै लयमा देखियो । उसले तेस्रो सेट २५–१४ अंकले जितेर उत्कृष्ट सुरुआत गरेको हो ।

त्यसैगरी, दोस्रो खेलमा ललितपुरले मधेस युनाइटेडलाई ३–० को सोझो सेटमा पराजित गर्‍यो । पहिलो सेट २५–१७ ले आफ्नो पक्षमा पारेको ललितपुरले दोस्रो सेट २५–१३ र तेस्रो सेट २५–१९ ले जित निकाल्यो ।

लिग अन्तर्गत शनिबार पनि ३ खेल हुनेछन् । शनिबार पहिलो खेल ललितपुर क्विन्स र काठमाडौँ स्पाइकर्सबीच तथा दोस्रो खेल कर्णाली यशविस र लुम्बिनी लाभाजबीच खेल हुने आयोजकले जनाएको छ । भोलिको अन्तिम खेल पोखरा निन्जाज र मधेस युनाइटेडबीच हुनेछ ।

यही भदौ २८ गतेसम्म सञ्चालन हुने लिगमा छ फ्रेन्चाइज टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । सहभागी टोलीले ‘सिंगल राउण्ड रोविन’का आधारमा एकआपसमा खेलेपछि बढी अंक जोड्ने दुई टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।

यसअघि प्रतियोगिताको उद्घाटन गर्दै युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले पोखरालाई स्पोर्टस् हब बनाउने गरी सरकारले प्राथमिकता दिएको बताए । उनले पोखरा क्रिकेटमैदान तथा फुटबल रंगशालाको स्तरोन्नतिका लागि आवश्यक बजेटको व्यवस्था गरिएको जानकारी दिए ।