
सोमबारको प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध कायमै राखेका छन् ।
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आइतबारको संसद् बैठकमा नेपालले पनि भारतको भूमि अतिक्रमण गरेको अभिव्यक्ति दिएपछि विपक्षीले विरोध गरेका हुन् ।
उनीहरूले प्रधानमन्त्रीले माफी माग्नुपर्ने र प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने माग राखेका छन् ।
प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले प्रधानमन्त्रीको अभिव्यक्तिलाई सच्याउनुपर्ने र त्यसका लागि सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गरेका छन्।
उनले संवैधानिक मर्यादा र राष्ट्रिय हित विपरीत जाने कुनै पनि अभिव्यक्ति स्वीकार्य नहुने चेतावनीसमेत दिए। महरका अनुसार प्रधानमन्त्रीले नेपालले भारततर्फ पनि भूमि अतिक्रमण गरेको आशय व्यक्त गर्नु गम्भीर र अस्वीकार्य विषय हो।
एमालेका प्रमुख सचेतकले उक्त भनाइले राष्ट्रिय सम्मानमा आँच पुर्याएको उल्लेख गर्दै यसले नागरिकमा गलत सन्देश प्रवाह भएको दाबी गरे। उनका अनुसार यस्ता विषयमा सरकारको नेतृत्वले थप संवेदनशील र जिम्मेवार भएर प्रस्तुत हुनुपर्ने आवश्यकता छ।

