
आकस्मिक आएको हावाहुरीका कारण फेवातालमा छाल आई प्याडल तथा सर्फिङ बोटमा फसेका १२ जना पर्यटकहरूलाई उद्धार गरिएको छ ।
शनिवार साँझको करिब ४ बजे आकस्मिक आएको हावाहुरीका कारण फसेका १२ जना पर्यटकहरूलाई सशस्त्र प्रहरी बल नेपालबाट खटिएको टोलीले उद्धार गरेको हो ।
उनीहरू सर्फेस बोट र प्याडल बोटमा ताल भ्रमण गरिरहेका बेला मौसम अचानक प्रतिकूल बनेपछि किनारामा फर्किन नसकी अलपत्र परेका थिए । फेवाताल क्षेत्रमा एक्कासि आएको तीव्र हावाहुरीले तालमा छाल उत्पन्न गरेपछि पर्यटकहरू चढेका डुंगा तथा बोटहरू नियन्त्रणबाहिर जाने अवस्था सिर्जना भएको थियो । प्रतिकूल मौसमका कारण तालको बीच भागमा फसेका पर्यटकहरू त्रसित बनेका थिए ।
घटनाको जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बलले फेवा रेस्क्यु टावरमा खटिएको १० सदस्यीय विशेष उद्धार टोलीलाई तत्काल परिचालन गरेको थियो । उद्धार टोलीले प्रतिकूल मौसम र हावाहुरीका बीच पनि उद्धार कार्य सञ्चालन गर्दै तालमा फसेका सबै पर्यटकलाई सुरक्षित रूपमा किनारामा ल्याउन सफल भएको जनाएको छ ।

