कोरोना भाइरसबारे केही जानकारी

-


     मर्दी न्युज    
     २४ फाल्गुन २०७६ मा प्रकाशित


तस्विर एजेन्सी

पोखरा । गत डिसेम्बरदेखि चीनको हुबेई प्रान्तको राजधानी वुहानबाट फैलिन सुरू भएको यो कोरोनाभाइरसले विश्वभर गरी शनिवार बिहानसम्म ३ हजार ४ सय ५५ मानिसको ज्यान लिएको छ । १ लाख ७ सय ४१ जना संक्रमित छन् ।

कोरोनाभाइरस विश्वभर फैलिएपछि विश्वभरकै विमानस्थलमा सावधानी अपनाउन थालिएको छ । धेरै संख्यामा संक्रमण फैलिएका चीन, दक्षिण कोरिया, इटली, इरानजस्ता देशले यसलाई कसरी रोक्ने र थप फैलिन नदिने भन्नेमा आफ्नो ध्यान केन्द्रित गरेका छन् ।
नेपालमा यसको संक्रमण नदेखिए पनि देशले यो भाइरस आउनै नदिन चाल्नु पर्ने कदम चालिरहेका छन् । तै पनि भाइरस तीव्र गतिमा विश्वभर फैलिरहेको छ ।

कोभिड–१९ नाम दिइएको भाइरस नयाँ भएकोले डाक्टर र वैज्ञानिकहरूले यसबारे धेरै कुरा अझै थाहा पाएका छैनन्, कतिपय कुरा अध्ययनकै क्रममा छन् ।

खाएपछि निको भइहाल्ने कुनै औषधी बनिनसकेको र पर्याप्त सूचनाको अभावमा धेरै मानिस कोरोनाको डरले त्रसित छन् ।

यो भाइरससँग हामी सचेत पक्कै हुनुपर्छ तर अतालिनु जरूरी छैन ।

नोभल कोरोना भाइरस भनेको के हो?
यो नयाँ प्रजातिको भाइरस हो जुन मानव जातिमा पहिले पहिचान भएको थिएन । यस भाइरसले मानिस र पशुहरूमा संक्रमण गर्दछ । यो भाइरस गएको डिसेम्बरमा पत्ता लागेको थियो । कोरोना भाइरस विभिन्न प्रकारका छन् । यसअघि ६ प्रकारको भाइरस मात्र मान्छेमा संक्रमण हुन्छ भनिन्थ्यो । अहिले भने त्यसभन्दा फरक नयाँ प्रकारको कोरोना भाइरस फैलिएको हो ।
यसले मान्छेमा संक्रमण गर्ने क्षमता अरु कोरोना भाइरस भन्दा तीब्र एवं धेरै छ । स्वास्थ्य विशेषज्ञहरुले यो निकै भयानक रहेको बताइरहेका छन् । यस भाइरसले सामान्य रुघाखोकी देखि गम्भीर प्रकारको तीव्र श्वासप्रश्वास Severe Acute Respiratory Syndrome (SARS) सम्म गराउन सक्दछ ।

कसरी थाहा पाइन्छ ?
अझै जाडोको मौसम हटिसकेको छैन । यतिबेला रुघाखोकी लाग्नु सामान्य मानिन्छ । जबकी कोरोना भाइरसले संक्रमण गरिसकेपछिको सुरुवाती लक्षण पनि यस्तै हुन्छ । त्यसैले यसबाट कतिपय झुक्किन सक्छन् । रुघाखोकी जस्तै लागेपनि यो सामान्य रुपमा रहँदैन । त्यसपछि क्रमश उच्च ज्वरो आउँछ, टाउको दुख्छ, सास फेर्न गाह्रो हुन्छ । कतिपय अवस्थामा यसबाट मृत्यु समेत हुन्छ ।

के मानिसमा जनावरहरूबाट नोभल कोरोना भाइरस संक्रमित हुन सक्दछ?
नोभल कोरोना भाइरस जनावरबाट मानिसमा संक्रमित भएको कुनै वैज्ञानिक आधार हाल छैन ।

के नोभल कोरोना भाइरस र SARS एउटै हुन् ?
सन् २००३ मा देखिएको SARS र नोभल कोरोना भाइरस एउटै प्रजातिका भाइरस हुन् । दुवै भाइरसले बिरामीलाई गम्भीर बनाउन सक्दछन् । महत्वपूर्ण कुरा, नोभल कोरोना भाइरस मानिसहरू बीच सजिलै सर्न सक्दछ भनेर अझै पुष्टी भएको छैन ।

मानिस कसरी यो भाइरसबाट संक्रमित हुन सक्छ ?
मानिस कसरी यो भाइरसबाट संक्रमित भएका छन् भन्ने बारेमा आज सम्म वैज्ञानिक तवरले पुष्टी भएको छैन। हाल यस विषयमा अनुसन्धान भइरहेको छ ।

के यो एक व्यक्त्तिबाट अर्को व्यक्त्ति सर्न सक्दछ?
अहिले निश्चितताका साथ भन्न सकिने अवस्था छैन । एउटै परिवारका सदस्यहरू बिरामी भएको पाइएकोले, मानव–मानव बीचमा सीमित तवरले सर्ने सम्भावना रहेको अनुमान गरिएको छ । साथै, परिवारका सदस्यहरू एकै स्रोतबाट संक्रमण भएको हुन सक्ने सम्भावना पनि रहेको छ ।

यस भाइरसको संक्रमणबाट कसरी बच्न सकिन्छ ?
सामान्यतः यस भाइरसको संक्रमण कसरी हुन्छ भन्ने बारेमा एकिन जानकारी छैन । तथापि रुघा, खोकी तथा श्वासप्रश्वासका बिरामीको नजिक नजाने तथा हातको सरसफाई नियमित गरेमा संक्रमणको सम्भावना कम रहन्छ ।

के कोरोना भाइरसको लागि उपचार छ ?
नोभल कोरोना भाइरसले गर्दा हुने रोगको लागि कुनै खास उपचार छैन । यद्यपि यो भाइरसले निम्त्याएका धेरै लक्षणहरूको उपचार गर्न सकिन्छ, त्यसैले बिरामीको उपचार लक्षणको आधारमा गरिन्छ । साथै यस भाइरसको विरुद्ध हाललाई कुनै खोप उपलब्ध छैन ।