तस्विरः गंगा घले
पोखरा, २० जेठ । रुकुम पश्चिम चौरजहारीमा अन्तरजातीय प्रेम विवाह गर्न खोज्दा भएको घटनाको विरोधमा पोखरामा मंगलवार विरोध प्रदर्शन गरिएको छ । दलित नागरिक अगुवा तथा संघसंस्थाहरुले नवराज विक सहितको हत्या घटना छानविन गरी दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका हुन् ।
विश्वकर्मा समाज, मिजार समाज, परियार सेवा समाज र नेपा गन्धर्व समुदाय विकास केन्द्र पोखराले संयुक्त रुपमा आज मंगलवार पोखरामा विरोध प्रर्दशन गरेका हुन् । पोखराको सिर्जनाचोकबाट सुरु भएको विरोध प्रदर्शन जिल्ला प्रशासन कार्यालय कास्कीमा पुगेर शान्तिपूर्ण धर्नामा परिणत भएको थियो ।
जुसुमा सहभागीहरुले जातीय विभेद अन्त्य गर, वर्णाश्रममा आधारित जातीय व्यवस्था मुर्दावाद, हत्या हिंसा बन्द गर, जातीय भेदभाव तथा छुवाछुत ऐन २०६८ लागू गर, हत्यारालाई कारवाही गर जस्ता नारा लेखिएका प्लेकार्डहरु बोकेका थिए ।
विरोध जुलुसमा सहभागीहरुले रुकुम पश्चिम चौरजहारीका घटनामा ६ जना युवाको एकै चिहान हुनेगरी भएको नरसंहारको विरोध गर्दै दोषीलाई कडा कारवाहीको माग गरेका छन् ।
गत जेठ १० गते भएको घटनामा नवराज विकसहित उनका साथीहरु गणेश बुढामगर, सन्दिप विक, लोकेन्द्र सुनार, टीकाराम सुनाको मृत्यु भएको छ भने अर्का गोविन्द शाही बेपत्ता छन् ।
तस्विरहरुः गंगा घले